|
906 SHARES |
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान समेटेर उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान तथा कार्यक्रमका लागि ४८ करोड ५८ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै नगरस्तरीय योजना, विषयगत शाखा तथा वडास्तरीय योजनाका लागि २७ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ। प्रशासनिक खर्चतर्फ १८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
कुल बजेटमध्ये ३१.५ प्रतिशत पुँजीगत तथा ६८.५ प्रतिशत चालु खर्च रहेको छ। सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरणका लागि मात्रै ४० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो।
नगरका ११ वटै वडालाई सूत्रका आधारमा ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ। वडागत योजनाका लागि कुल ७ करोड रुपैयाँ छुट्याइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख मेगाहाङ थोप्राले स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार अघिल्ला वर्षदेखि सञ्चालनमा रहेका अधिकांश योजनालाई निरन्तरता दिइएको छ भने केही महत्वपूर्ण योजनालाई थप बजेट व्यवस्थासहित कार्यान्वयन गरिनेछ।
बजेटमा नगरस्तरीय दुधे रङ्गशाला स्तरोन्नतिका लागि प्याराफिट निर्माण तथा फ्लडलाइट जडान गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी ‘स्मार्ट विद्यालय निर्माण कार्यक्रम’का लागि ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगरपालिकाले सञ्चालन गर्दै आएको ‘सुन्दर शहर, उज्यालो नगर’ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। साथै पर्यटकीय क्षेत्रको विकास तथा विस्तार, नगर रिङरोड निर्माणलगायतका योजनालाई आगामी आर्थिक वर्षमा पनि अघि बढाइने जनाइएको छ।
नगरसभामा प्रस्तुत बजेटले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै समृद्ध, व्यवस्थित र दिगो नगर निर्माणको लक्ष्य लिएको उल्लेख गरिएको छ।
नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाफेले गर्नुभएको थियो।









