|
734 SHARES |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आवश्यक परे पाँच वर्षसम्म पनि सरसल्लाह गर्न तयार रहेको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो सरकार कानुनको दायराभित्र रहेर काम गर्ने तर विगतमा भएका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे आवश्यक अनुसन्धानका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
हालै पासपोर्ट खरिद प्रकरणमा पदमै रहेका जिम्मेवार अधिकारी तथा राजनीतिक व्यक्तिमाथि अनुसन्धानका लागि प्रधानमन्त्रीको सचिवालयका सदस्यले सिंहदरबारमै अख्तियारका पदाधिकारीलाई घण्टौँ रोकेर दबाब दिएको आरोप सार्वजनिक भएको थियो । प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई उक्त घटनासँग जोडेर हेरिएको छ ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “विगतका दिनमा सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ । त्यो निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्रै होइन, पाँच वर्ष गर्छौँ । पाँच वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नुपर्दैन ।”
उहाँले आफ्नो सरकार नियम–कानुनको सीमाभित्र रहेर अघि बढ्ने र कुनै पनि हालतमा कानुन नमिच्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिएजस्तो अवस्था नियन्त्रणबाहिर नरहेको उल्लेख गर्दै सबै काम कानुनी प्रक्रियाअनुसार भइरहेको बताउनुभयो ।
रास्वपाको विचारधाराबारे उठ्ने प्रश्नको जवाफ दिँदै उहाँले आफ्नो पार्टीलाई ‘विकासवादी पार्टी’ का रूपमा व्याख्या गर्नुभयो । उहाँले पार्टी प्रतिशोधको राजनीतिभन्दा विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।
त्यस्तै, महाधिवेशनका क्रममा गुट–उपगुट निर्माण नगर्न नेता तथा प्रतिनिधिहरूलाई आग्रह गर्दै प्रधानमन्त्री शाहले जनताको विश्वास जितेर मात्रै असल नेता बन्न सकिने धारणा राख्नुभयो ।
सीमा विवादका विषयमा बोल्दै उहाँले नेपालसँग कालापानी र लिपुलेक सम्बन्धी पर्याप्त प्रमाण रहेको दाबी गर्दै छिमेकी मुलुकसँग आपसी संवादबाटै समस्या समाधान गरिने बताउनुभयो । प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियताप्रति कुनै आशंका नगर्न आग्रहसमेत गर्नुभयो ।









