झापा । बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल स्वास्थ्य सेवाको दायरा विस्तारसँगै पूर्वी नेपालको उत्कृष्ट तथा सर्वसुलभ स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अत्याधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक, सुपर स्पेसियालिटी सेवा र चौबीसै घण्टा उपलब्ध उपचार सुविधाका कारण छोटो समयमै अस्पतालले झापा लगायत पूर्वी नेपालका सेवाग्राहीको विश्वास जित्न सफल भएको अस्पताल प्रशासनले जनाएको छ।
पत्रकार सम्मेलनमार्फत अस्पतालले हालको सेवा अवस्था, क्षमता विस्तार तथा आगामी योजनाबारे जानकारी सार्वजनिक गरेको हो।
अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार हाल २२ वटा क्लिनिकल विभागमार्फत सेवा सञ्चालन भइरहेको छ। अस्पतालमा १६ जना प्यारामेडिक्स, ४१ जना मेडिकल अफिसर, ५० जना लेक्चरर, चार जना एसोसिएट प्रोफेसर, १५ जना प्रोफेसर तथा ३५६ जना दक्ष नर्सिङ जनशक्तिबाट २४सै घण्टा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ।
गिरीका अनुसार बि एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले छोटो समयमै पूर्वी नेपालका बिरामीहरूको विश्वास जित्दै गुणस्तरीय उपचार सेवाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।
नेपाल सरकारले निजी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम हटाए पनि बिर्तामोडस्थित बि एण्ड सी अस्पतालले सोही सेवा, सुविधा र शुल्कअनुसार उपचार सेवा उपलब्ध गराइरहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले आकस्मिक तथा ट्रमा सेवा निरन्तर सञ्चालन गर्दै आएको छ। नेफ्रोलोजी, एन्डोक्राइनोलोजी, कार्डियोलोजी र पल्मोनोलोजीलगायतका सुपर स्पेसियालिटी सेवा सञ्चालनमा रहेको उल्लेख गर्दै रेडियोलोजी, क्लिनिकल प्याथोलोजी तथा इन्टरभेन्सनल रेडियोलोजीजस्ता आधुनिक निदान तथा अनुसन्धान सेवासमेत उपलब्ध रहेको अस्पतालको दाबी छ।

विपन्न नागरिकलाई लक्षित गरी उपचार कोषमार्फत सेवा सञ्चालन गरिएको तथा मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।
आर्थिक वर्ष २०८२ मा १८ हजार ६२० जना आकस्मिक बिरामी, २० हजार १६० जना भर्ना (आईपिडी) बिरामी तथा चार लाखभन्दा बढी बहिरङ्ग (ओपिडी) बिरामीले सेवा लिएका छन्। सोही अवधिमा छ हजार ८५० वटा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार निःशुल्क डायलाइसिस सेवाबाट सात हजार ६७६ जना लाभान्वित भएका छन् भने तीन हजार ३३० जनाले आईसीयू, एनआईसीयू तथा पीआईसीयूजस्ता क्रिटिकल केयर सेवा लिएका छन्। हृदय रोग उपचारअन्तर्गत ५५२ वटा एन्जियोग्राफी र २०४ वटा एन्जियोप्लास्टी गरिएको छ।
“सम्पूर्ण सेवा एउटै छानामुनि” भन्ने अवधारणाअनुसार अस्पतालले बिरामीलाई एकीकृत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालमा डायलाइसिस, आईसीयू, सीसीयू, एनआईसीयू, पीआईसीयू, नर्सरी, एचडीयू, पोस्ट–अपरेटिभ केयर, पुनर्स्थापना सेवा, फिजियोथेरापी, पोषण व्यवस्थापन तथा बिरामी भोजन सेवासमेत सञ्चालनमा रहेका छन्।
पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गतका सेवाहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले बि एण्ड सी अस्पताल महँगो भएको भन्ने प्रचार मात्र रहेको दाबी गर्दै गम्भीर अवस्थाका बिरामीको उपचारका लागि धेरैको अन्तिम रोजाइ बि एण्ड सी बन्ने गरेको बताउनुभयो।
पत्रकार सम्मेलनमा मुटुरोग विभाग प्रमुख डा. उमेश यादव, न्यूरो तथा स्पाइन सर्जन डा. निराजन पराजुलीलगायत विभिन्न विभागका प्रमुख चिकित्सकहरूले आफ्नो विभागअन्तर्गत भएका उपलब्धि, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
अस्पताल व्यवस्थापनले आगामी दिनमा थप सुपर स्पेसियालिटी सेवा विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।









