अर्जुनधारामा ट्र्याक्टर जोताइ सेवाको शुल्क निर्धारण

झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्र ट्र्याक्टरमार्फत प्रदान गरिने जोताइ सेवाको शुल्क निर्धारण गरेको छ।

नगरपालिकाले किसान, ट्र्याक्टर सेवा प्रदायक व्यवसायी तथा सरोकारवालासँग बुधबार गरेको छलफलपछि जोताइ सेवाको शुल्क तय गरेको जनाएको छ। कृषि कार्यमा एकरूपता कायम गर्दै किसान र सेवा प्रदायकबीच उत्पन्न हुन सक्ने विवाद न्यूनीकरण गर्ने उद्देश्यले शुल्क निर्धारण गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो।


निर्धारित शुल्कअनुसार रोटाभेटरद्वारा प्रदान गरिने जोताइ सेवाको शुल्क प्रतिघण्टा दुई हजार ४९० रुपैयाँ तथा कल्टिभेटरद्वारा प्रदान गरिने जोताइ सेवाको शुल्क प्रतिघण्टा दुई हजार २९० रुपैयाँ कायम गरिएको छ।

विज्ञापन

नगरपालिकाका अनुसार ट्र्याक्टर जोताइ सेवा उपयोग गर्ने किसानले सेवा लिएको मितिले एक महिनाभित्र सम्बन्धित सेवा प्रदायकलाई शुल्क भुक्तानी गर्नुपर्नेछ। शुल्क भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भए त्यसको जिम्मेवारी किसान र सेवा प्रदायक स्वयंले वहन गर्नुपर्ने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत अनुजकुमार घिमिरेले निर्धारित शुल्क कार्यान्वयन गर्न किसान तथा सेवा प्रदायकलाई आग्रह गर्दै कृषि क्षेत्रमा पारदर्शिता, सहजता र सेवा प्रवाहमा एकरूपता कायम गर्न सहयोग पुर्‍याउन सबै पक्षसँग अनुरोध गर्नुभयो।

नगरपालिकाले गरेको शुल्क निर्धारणले किसान र सेवा प्रदायकबीच स्पष्टता ल्याउनुका साथै कृषि यान्त्रिकीकरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय