आषाढ ३ गतेदेखि शिवसताक्षी नगरपालिकाबाटै पूर्ण रूपमा मालपोत सेवा सञ्चालन हुने



682 SHARES

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आषाढ ३ गतेदेखि पूर्ण रूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ। यससँगै हालसम्म मालपोत कार्यालय दमकबाट प्रदान हुँदै आएका जग्गासम्बन्धी सम्पूर्ण सेवाहरू अब नगरपालिकाबाटै उपलब्ध हुने भएका छन्।

नगरपालिकाले यसअघि आंशिक रूपमा सञ्चालन गर्दै आएको भूमि प्रशासन सेवा अब पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन लागेको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि देशभरका ७५३ स्थानीय तहमध्ये ३५ वटा पालिका छनोटमा परेका छन्, जसमा शिवसताक्षी नगरपालिका पनि समावेश भएको छ। यसलाई नगरका लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै नगरप्रमुख थोप्राले जग्गासम्बन्धी कामका लागि दमक धाउनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।

विज्ञापन

“जग्गासम्बन्धी कामका लागि नागरिकले दमक पुग्नुपर्ने र विभिन्न शीर्षकमा अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था थियो। अब शिवसताक्षीवासीले आफ्नै नगरपालिकाबाट सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्,” उहाँले भन्नुभयो।

भूमि प्रशासन सेवा प्रमुख डिल्ली नेपालका अनुसार नगरपालिकाबाट राजीनामापास, हकहिस्सा राजीनामा, दर्ताफारी, संगोलनामा, छोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह, करारनामा, कपाली तमसुक, अंशबण्डालगायत एलआईएन (LIN) नम्बर प्राप्त धनीपुर्जासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइनेछ।

उहाँका अनुसार एलआईएन नम्बर नभएका धनीपुर्जाको हकमा प्रारम्भिक चरणमा एकपटक भूमि प्रशासन कार्यालय दमकमा जानुपर्ने भए पनि आगामी दिनमा उक्त सेवा समेत नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको छ।

नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङले भूमि प्रशासन सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले लिखत तयार गर्न बाहिर जानुपर्ने झन्झटबाट समेत मुक्ति पाउने बताउनुभयो।

नगरपालिकाले भूमि प्रशासन सेवा प्रयोग गरेबापत सेवाग्राहीबाट एक हजार पाँच सय रुपैयाँ सेवा शुल्क लिने व्यवस्था गरेको जनाएको छ। उक्त रकम नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुनेछ। यद्यपि, जग्गा रजिस्ट्रेशन शुल्क भने संघीय सरकारले निर्धारण गरेको दररेटअनुसार नै लाग्नेछ।

स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा आएपछि नगरवासीले छिटो, सहज, पारदर्शी तथा कम खर्चिलो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय