|
9,000 SHARES |
काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज काठमाडौं–दुबई, भोलि दुबई–काठमाडौं तथा आइतबार काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
सरकारका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन र गन्तव्य मुलुक पुग्न नसकेकाहरूलाई सहयोग पुर्याउन विशेष उडान सञ्चालन गर्न लागिएको हो।
यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बसेको बैठकले उद्धार र आवागमन सहज बनाउने विषयमा आवश्यक निर्णय गरेको थियो।
शिशिर खनाल को निर्देशनपछि निगमले विशेष उडान सञ्चालनको तयारी गरेको हो। पश्चिम एसियामा बढ्दो असुरक्षा अवस्थाका कारण नियमित उडानहरू फेब्रुअरी २८ देखि स्थगित छन्।
परराष्ट्र मन्त्रालयले कठिन परिस्थितिमा पनि उडान सञ्चालनमा सहयोग गर्ने सरोकारवाला निकायहरूलाई धन्यवाद दिएको छ। उडानका क्रममा आवश्यक बीमा व्यवस्थाका लागि राष्ट्रिय बीमा कम्पनी ले सहकार्य गरेको जनाइएको छ।










