|
9,000 SHARES |
झापा । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पाँच जना पूर्वसुरक्षाकर्मी विजयी भएका छन्। तीमध्ये झापा–४ बाट निर्वाचित शम्भु सुस्केरा (शम्भुप्रसाद ढकाल)देखि ओखलढुंगाबाट साँघुरो मतान्तरले जित निकाल्ने विश्वराज पोखरेलसम्मका उम्मेदवार चर्चामा रहेका छन्।
सबैभन्दा पहिले झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका शम्भु सुस्केरा ४३ हजार ६३१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एलबी साँवा लिम्बुले ११ हजार ९८६ मत प्राप्त गरे। झापाको कनकाई नगरपालिका–१ निवासी सुस्केरा पूर्व नेपाल प्रहरी हुन्। वास्तविक नाम शम्भुप्रसाद ढकाल भए पनि उनी शम्भु सुस्केरा नामबाट परिचित छन्। यही नामबाट उनले ‘शहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ कथासंग्रह पनि प्रकाशित गरेका छन्। प्रहरी सेवामा रहँदा उनले प्रहरीसम्बन्धी कार्यक्रमका लागि १ वर्ष रेडियो कान्तिपुर र १४ वर्ष रेडियो नेपालमा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा काम गरेका थिए। साथै ट्राफिक एफएममा ३ वर्ष कार्यक्रम प्रमुखको रूपमा पनि काम गरेका थिए। उनले प्रहरी नायब निरीक्षक (सई) बाट जागिरदेिख विदा लिएका थिए ।
त्यस्तै काठमाडौं–३ बाट महानगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डे पनि रास्वपाबाट निर्वाचित भएका छन्। उनले १८ हजार ७५७ मत ल्याएर विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे। राजनीतिमा आउनुअघि पाण्डे काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुख (एसएसपी)का रूपमा कार्यरत थिए। मेयर बालेन शाहले राजीनामा दिएर रास्वपामा प्रवेश गरेपछि उनका विश्वासपात्र पाण्डे पनि राजनीतिमा सक्रिय भएका थिए।
गुल्मी क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार बनेका पूर्वडीएसपी गोविन्द पन्थी पनि निर्वाचित भएका छन्। उनले १६ हजार ८७८ मत प्राप्त गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गरे। विष्टले १६ हजार ३८२ मत प्राप्त गरेका थिए। पन्थी यसअघि कुनै राजनीतिक दलमा आबद्ध थिएनन्। उनले ३० वर्ष प्रहरी सेवापछि २०८१ सालमा डीएसपी पदबाट अवकाश लिएका थिए।
यसैगरी कपिलवस्तु–२ बाट उम्मेदवार बनेका पूर्वएसएसपी विक्रम सिंह थापा २७ हजार ६३५ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे। थापा नेपाली कांग्रेसबाट समेत उम्मेदवार सिफारिस भएका थिए। तर कांग्रेसभित्रको आन्तरिक विवादपछि उनी रास्वपा प्रवेश गरेका थिए। रास्वपामा प्रवेश गर्दा उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि थिए। यसअघि २०७९ को निर्वाचनमा उनी लुम्बिनी प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।
यसैबीच ओखलढुंगाबाट रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले सबैभन्दा साँघुरो जित निकालेका छन्। उनले १३ हजार ९५३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए। पोखरेलले मात्र ५ मतान्तरले जित हासिल गरेका हुन्, जुन हालसम्मको निर्वाचन परिणाममध्ये सबैभन्दा कम मतान्तरको जित मानिएको छ। पोखरेल पूर्वएआईजी हुन्। आईजीपीको प्रमुख दाबेदार हुँदाहुँदै तत्कालीन सरकारले डेढ वर्ष जुनियरलाई आईजीपी बनाएपछि उनले राजीनामा दिएका थिए। प्रहरी सेवाबाट राजीनामा दिएको करिब साढे तीन वर्षपछि उनी संसद्मा पुगेका हुन्।










