|
9,000 SHARES |
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका केन्द्रीय कार्यालयमै राखिएको छ। दुवै जिल्लाका निर्वाचन कार्यालयमा भण्डारणको पर्याप्त ठाउँ नभएकाले मतपेटिका केन्द्रीय कार्यालयमै सुरक्षित राखिएको हो।
चितवनमा भने भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिनुभयो।
भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयमै मतपेटिका मौज्दात रहेकाले त्यहीँबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ। अन्य ७४ जिल्लामा पनि २०७९ सालमै पठाइएको मतपेटिकाको मौज्दातबाट आवश्यक परिमाणमा वितरण गरिने आयोगले जनाएको छ।
यसपटकको निर्वाचनका लागि देशभर ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र कायम गरिएको आयोगले जानकारी दिएको छ।










