कन्याममा ‘वृक्षालय’ सञ्चालन, चिया पर्यटनलाई अनुभवसँग जोड्ने लक्ष्य [तस्बिरसहित]



784 SHARES

बिर्तामोड । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया पर्यटनलाई नयाँ ढङ्गबाट प्रवर्द्धन गर्ने उद्देश्यले ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ। होटल तथा आतिथ्यता सेवासँगै चिया बगान, उत्पादन, किसानको मेहनत र स्थानीय स्वादलाई पर्यटकको अनुभवसँग जोड्ने लक्ष्यसहित वृक्षालय सञ्चालनमा ल्याइएको हो।

वृक्षालयका सञ्चालकहरूले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको उद्देश्य, सञ्चालन योजना र भावी कार्यक्रमबारे जानकारी दिएका छन्। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा २०८० सालमा निर्माण सम्पन्न भएको चिया परीक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको भवन संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि त्यसको सदुपयोग गर्दै वृक्षालय सञ्चालनमा ल्याइएको हो।

विज्ञापन

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रक्रियामार्फत २०८१ असार १८ गतेदेखि १० वर्षका लागि श्री उत्तम प्रगति निर्माण सेवाले उक्त संरचना भाडामा लिएको हो। सम्झौताअनुसार प्राप्त पाँचवटा भवनबाहेक आवश्यक थप संरचना निर्माणमा करिब दुई करोड रुपैयाँ लगानी गरिएको सञ्चालकहरूले जनाएका छन्।

विज्ञापन

विश्व पर्यटन बजारमा लामो समय काम गरेर स्वदेश फर्किएका चार युवाको सामूहिक लगानी र व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको हो। उत्तमकुमार श्रेष्ठ, राजु ढकाल, सन्तोष कुँवर र तेजेन्द्र शर्माको लगानीमा सञ्चालित वृक्षालयले होटल व्यवसायमा मात्र सीमित नभई कन्यामलाई अनुभव गर्न सकिने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

वृक्षालयले चियालाई केवल पेय पदार्थका रूपमा नभई पर्यटकीय अनुभवसँग जोड्ने योजना अघि सारेको छ। चिया बगानको अवलोकन, चिया उत्पादन प्रक्रिया, किसानको श्रम तथा स्थानीय स्वादलाई पर्यटकको अनुभवसँग जोडेर ‘चिया पर्यटन’ प्रवर्द्धन गर्ने प्रयास गरिएको सञ्चालकहरूले बताएका छन्।

अमेरिका तथा युरोपेली मुलुकसँगै भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश र म्यानमारबाट पर्यटक आकर्षित गर्ने लक्ष्य वृक्षालयले राखेको छ। पर्यटकलाई कन्याममा मात्र सीमित नराखी स्थानीय होमस्टे तथा इलामका अन्य पर्यटकीय गन्तव्यबारे जानकारी गराएर कम्तीमा चार रात पाँच दिनसम्मको बसाइको वातावरण तयार गर्ने योजना रहेको छ।

वृक्षालयमा हाल २५ जना स्थानीय युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन्। संस्थाले नेपालका काठमाडौं, चितवन, लमजुङ र बाँकेमा समेत विगत छ वर्षदेखि शाखा सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालकहरूको भनाइ छ।

रैथाने खानपान, मौलिक स्वाद र नेपाली आतिथ्यताको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको वृक्षालयले पर्यटन प्रवर्द्धनका लागि ‘सरसफाइ, सत्कार र स्वाद’लाई मूल मन्त्र बनाएको छ। कन्यामलाई केवल घुम्ने स्थान नभई पर्यटकले गहिरो अनुभव गर्न सक्ने गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको वृक्षालयका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताउनुभएको छ।

यसै भवनमा चिया परीक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्र र चिया संग्रहालयसमेत सञ्चालनमा रहेका छन्। ती संरचनाको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको जिम्मेवारीमा रहेको जनाइएको छ।

कन्यामको पर्यटन विकासमा स्थानीय सरकार, समुदाय, व्यवसायी तथा सञ्चार माध्यमको सहकार्य आवश्यक रहेको भन्दै वृक्षालयले आगामी दिनमा सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय