|
683 SHARES |
शिवगञ्ज । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तीर्ण दर खस्कँदै गएपछि झापाको शिवसताक्षी–६ स्थित जनआदर्श माध्यमिक विद्यालयले शैक्षिक नतिजा सुधारका लागि भदौदेखि नै अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ।
विद्यालयले कक्षा १० का ६३ विद्यार्थीलाई लक्षित गरी गणित, विज्ञान र अंग्रेजी विषयमा आज भदौ १८ गतेदेखि कोचिङ कक्षा सुरु गरेको हो। दुई सेक्सनमा अध्ययनरत विद्यार्थीका लागि तीन विषयका गरी छवटा कक्षा सञ्चालन गरिएको छ । बिहान ७ देखि ९ बजेसम्म दुई र बेलुकी ४ देखि ५ बजेसम्म एक विषयको कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ।
विद्यालयका लेखापाल दिनेश श्रेष्ठका अनुसार अघिल्ला वर्षमा पनि एसईई लक्षित अतिरिक्त कक्षा सञ्चालन हुँदै आएका थिए।
तर, यस वर्ष परीक्षाको व्यवस्थित तयारी र नतिजा सुधारका लागि भदौबाटै कक्षा सुरु गर्न लागिएको हो। अतिरिक्त कक्षा सञ्चालनमा भने आर्थिक स्रोत मुख्य चुनौती बनेको छ। यस शीर्षकमा विद्यालयसँग छुट्टै बजेट छैन। अधिकांश विद्यार्थी आर्थिक रूपमा विपन्न परिवारका भएकाले सकेसम्म निःशुल्क कक्षा सञ्चालन गर्ने विद्यालयको योजना छ।
श्रेष्ठका अनुसार अतिरिक्त कक्षा सञ्चालनमा मासिक करिब ३० हजार रुपैयाँ खर्च हुनेछ। एसईईसम्म करिब सात महिना कक्षा सञ्चालन गर्दा दुई लाख १० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान छ। विद्यालयले स्थानीय सरकारसँग आर्थिक सहयोगको अपेक्षा गरेको छ भने दाता, शिक्षाप्रेमी तथा संघसंस्थाबाट समेत सहयोग जुटाउने प्रयास गर्ने जनाएको छ। स्रोत जुट्न नसके विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम शुल्क लिनुपर्ने अवस्था आउन सक्ने श्रेष्ठले बताए।

करिब दुई महिनाअघि विद्यालयमा सरुवा भएर आएका प्रधानाध्यापक रमेशकुमार दाहालले शैक्षिक सुधारलाई प्राथमिकतामा राखेका छन्। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक दाहाल यसअघि लामो समय स्थानीय भगवती माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए।
“उत्कृष्ट नतिजाका लागि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थी सबैको उत्तिकै भूमिका आवश्यक हुन्छ,” दाहालले भने। विद्यालय प्रशासनमा केही नवीन काम गर्ने उत्कट इच्छा रहेको बताउँदै उनले विद्यार्थीको सिकाइ उपलब्धि र एसईई नतिजा सुधार्न कुनै कसर बाँकी नराख्ने बताए।
नगरको नमुना विद्यालयसमेत रहेको जनआदर्शको भौतिक पूर्वाधार भारतीय राजदूतावासको सहयोगमा निर्माणको क्रममा छ। भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा पनि सुधार गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रशासन अघि बढेको छ।










