|
934 SHARES |
झापा । जल तथा मौसम विज्ञान विभागले मंगलबार र बुधबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै मनसुनी गतिविधि तीव्र हुने र देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको थियो।
विभागका अनुसार मंगलबार र बुधबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही क्षेत्रमा धेरै भारी वर्षा समेत हुन सक्ने जनाइएको छ।
यस्तै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षाको मात्रा बढ्ने अनुमान गरिएको हो।
भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने उल्लेख गर्दै आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।










