|
813 SHARES |
झापा । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।
लगातारको वर्षापछि इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो झरेपछि सडक बन्द भएको हो।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार शनिबार परेको वर्षापछि पहिरो खसेको हो। यो सडकखण्ड वर्षायाममा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन पटक–पटक अवरुद्ध हुने जोखिमयुक्त क्षेत्रका रूपमा परिचित छ। हाल सडक खुलाउने उद्देश्यले पहिरो पन्छाउने काम भइरहेको प्रशासनले जनाएको छ।
यता, मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमा क्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रूख सडकमा ढलेर केही समय यातायात अवरुद्ध भए पनि अवरोध हटाइएपछि उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
राजदुवाली सडकखण्ड बन्द हुँदा इलाम, पाँचथर, ताप्लेजुङ तथा झापातर्फ आवतजावत गर्ने यात्रु र सवारी साधन प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सम्बन्धित निकायले सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेका छन्।









