|
684 SHARES |
झापा । झापाको कन्काई नगरपालिकामा विभिन्न प्रकारका लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
गएराति करिब १०ः२० बजे कन्काई नगरपालिका–४ नवज्योति टोल निवासी २१ वर्षीय हेमबहादुर लिम्बुको घरकोठामा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको गस्ती टोलीले खानतलासी गर्दा विभिन्न किसिमका लागूऔषध बरामद गरेको हो।
प्रहरीले उनको कोठाभित्र लुकाइराखिएको अवस्थामा प्लास्टिकसहित १ ग्राम ब्राउन सुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट ४४ वटा, नाइट्राजेपाम १३ वटा, एक थान सामसुङ मोबाइल र नगद ४८ हजार १५० रुपैयाँ बरामद गरेको जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै आएको जनाएको छ।









