राज्यलाई खबरदारी गर्दै दुधेखोलामा स्थानीयले श्रमदानबाट बनाए पुल



703 SHARES

अर्जुनधारा । झापा र इलामलाई जोड्ने दुधेखोलामा स्थायी पुल निर्माण नहुँदा वर्षौंदेखि बर्खायाममा सास्ती खेप्दै आएका स्थानीयवासी अन्ततः आफैं श्रमदानमार्फत पुल निर्माणमा जुटेका छन्।

इलामको रोङ गाउँपालिका–२ तथा झापाको अर्जुनधारा नगरपालिका–२ अन्तर्गतका विभिन्न क्षेत्रका स्थानीयले बाँस प्रयोग गरेर दुईपाङ्ग्रे मोटरसाइकल र तीनपाङ्ग्रे अटोरिक्सासमेत सञ्चालन गर्न मिल्ने अस्थायी पुल निर्माण गरिरहेका हुन्।

विज्ञापन

निर्माणाधीन पुलले अर्जुनधारा–२ को बेल्टार, गाँजाबारी र मिश्रटार क्षेत्रलाई दुधेखोला पारिको मझौ र लुकुवा गाउँसँग जोड्नेछ। झापा तर्फबाट दुधेखोला पार गरेपछि दुधे बस्ती, धनसार, मङ्गलटार, बदमटारलगायतका बस्तीमा पुग्न सकिने यो सडक शान्तिपुर हुँदै मेची राजमार्गसँग जोडिने वैकल्पिक मार्गका रूपमा समेत परिचित छ।

विज्ञापन

स्थानीयका अनुसार यस क्षेत्रमा स्थायी पुल निर्माणको माग गर्दै वर्षौंदेखि संघ, प्रदेश तथा स्थानीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइए पनि कुनै ठोस योजना कार्यान्वयन नभएपछि बाध्य भएर स्थानीय आफैं श्रमदानमा उत्रिएका हुन्।

दुधेखोलाले केही वर्षअघि इलामको दुधे बस्ती क्षेत्रकी एक महिलालाई बगाउँदा मृत्यु भएको घटनासमेत स्थानीयले स्मरण गरेका छन्। त्यसयता हरेक वर्ष बर्खायाममा विद्यार्थी, बिरामी, बजार आउने–जाने सर्वसाधारण तथा दैनिक आवतजावत गर्ने नागरिकले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था रहँदै आएको छ।

सिर्जना सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा सुरु गरिएको पुल निर्माण अभियानमा स्थानीयवासी उत्साहजनक रूपमा सहभागी भइरहेका छन्। श्रमदानको तेस्रो दिनसम्म उल्लेख्य सङ्ख्यामा स्थानीयको सहभागिता देखिएको बताइएको छ।

स्थानीयवासीका अनुसार यो अभियान केवल अस्थायी पुल निर्माण मात्र नभई राज्यप्रति गरिएको प्रतीकात्मक खबरदारी पनि हो। पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आफ्नै श्रम, समय र स्रोत परिचालन गरेर पुल निर्माण गर्नुपरेको उनीहरूको भनाइ छ।

स्थानीयको सक्रियताले दुधेखोलामा अस्थायी समाधान खोजिएको भए पनि दीर्घकालीन रूपमा स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायले समयमै चासो नदिए यस क्षेत्रका नागरिकले राज्यबाट उपेक्षित भएको महसुस गरिरहने अवस्था रहने देखिन्छ।

भिडियो रिर्पोट हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय