|
685 SHARES |
काठमाडौँ । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र ६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार गृह मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने अवधि पूरा गरेका प्रजिअहरूको एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरिएको छ।
सरुवाअनुसार सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
त्यस्तै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका जगदीश्वर उपाध्यायलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व), रामेछापका श्यामकृष्ण थापालाई सप्तरी, कास्कीकी रुद्रादेवी शर्मालाई धनकुटा तथा सङ्खुवासभाकी सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।
यस्तै ओखलढुङ्गाका मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका विजयराज सुवेदीलाई सर्लाही, पाल्पाकी विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका धर्मराज जोशीलाई सुर्खेत तथा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको हो। मन्त्रिपरिषद्को निर्णयबमोजिम मन्त्रालय वा मातहतमा सरुवा भई आएका सहसचिवलाई जिम्मेवारी दिन, रिक्त जिल्लाहरूमा पदपूर्ति गर्न तथा कार्यकाल पूरा गरेका प्रमुख जिल्ला अधिकारीलाई अन्यत्र व्यवस्थापन गर्न सरुवा गरिएको उनले बताए।
यसैबीच मन्त्रालयले सहसचिव बलराम निरौलालाई अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पदस्थापन गरेको छ। त्यस्तै सहसचिव प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।









