|
9,000 SHARES |
झापा । अर्जुनधारा–११ वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ४ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ११ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सम्पन्न खेलमा वडा नम्बर ११ लाई सहज जित दिलाउन रोहन राईले दुई गोल गरे । उनले खेलको १९औँ मिनेटमा पहिलो तथा २८औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।
यस्तै, वडा नम्बर ११ का टिम कप्तान प्रदीप प्रधानले ३७औँ मिनेटमा थप एक गोल गरे । पहिलो हाफमै ३–० गोल अन्तरले पछि परेको वडा नम्बर ४ ले खेलमा फर्किन सकेन ।
खेलको ५४औँ मिनेटमा वडा नम्बर ११ का जेनिस घिमिरेले थप एक गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए ।

उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ११ का खेलाडी रोहन राई ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताअन्तर्गत भोलि दोस्रो क्वाटरफाइनल खेल हुनेछ । भोलिको खेलमा अर्जुनधारा–२ र अर्जुनधारा–५ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाको सहभागिता रहेको छ । वडा स्तरमा खेलाडी उत्पादन तथा नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्ने समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
गोलधाप युवा क्लब सह–आयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।










