डाङग्रे बाबा–सेतीदेवी पाथिभरा माता धाममा शुक्रबारदेखि तीनदिने धार्मिक महोत्सव हुँदै



9,000 SHARES

झापा । अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी पाथिभरा माता धामको पाँचौँ वार्षिकोत्सवको अवसरमा चैत्र २७ शुक्रबारदेखि तीनदिने धार्मिक महोत्सव आयोजना हुँदै छ।

धाम व्यवस्थापन समितिले आज बिहिबार पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिसहित भव्य रुपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।

विज्ञापन

महोत्सवको पहिलो दिन उद्घाटन कार्यक्रमसँगै विभिन्न सांस्कृतिक झाँकीसहित कलश यात्रा निकालिँदै नगर परिक्रमा गरिनेछ। समितिका अध्यक्ष इन्द्रबहादुर मगरका अनुसार यस दिन धार्मिक उत्साहका साथ स्थानीयवासीको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

विज्ञापन

दोस्रो दिन धामी–झाँक्रीद्वारा विशेष पूजा–अर्चना तथा सामूहिक धार्मिक अनुष्ठान गरिने कार्यक्रम तय गरिएको छ। यसले स्थानीय परम्परा र आस्थालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

तेस्रो तथा अन्तिम दिन दाताहरूलाई सम्मान गर्दै समापन समारोह आयोजना गरिनेछ। समापन अवसरमा भजन–कीर्तन तथा आरती कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।

संस्थाका सचिव रोशन नेम्वाङका अनुसार वार्षिकोत्सव अवधिभर धाम परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइनेछ।

यसै अवसरमा धामका आजीवन सदस्य संख्या वृद्धि गर्ने अभियानसमेत सञ्चालन गरिनेछ। हाल धाममा १५३ जना आजीवन सदस्य रहेको जानकारी दिइएको छ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागिताका लागि आयोजकले सबै श्रद्धालु तथा सर्वसाधारणलाई आह्वान गरेको छ। साथै, धामको दीर्घकालीन विकासका लागि आवश्यक जग्गा खरिद गर्ने योजना पनि अघि बढाइएको जनाइएको छ।

पत्रकार सम्मेलनमा संस्थाकी उपाध्यक्ष कमला ढकाल पौडेलसहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। महोत्सवलाई लक्षित गर्दै धाम परिसरलाई आकर्षक रूपमा सिँगारिएको छ।

स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वासका साथ आयोजना गरिएको महोत्सवमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय