|
9,000 SHARES |
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार म्यादी प्रहरीसहित कुल तीन लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी खटाइएको हो।
परिचालन गरिएको जनशक्तिअनुसार नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ तथा निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना खटाइएको छ।
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले हालसम्म देशभर शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। आयोगले समय–समयमा सुरक्षा निकायका प्रमुखसँग समन्वय गरी अवस्थाबारे जानकारी लिइरहेको उल्लेख गर्दै कुनै गम्भीर सुरक्षा चुनौतीको रिपोर्ट प्राप्त नभएको उनले स्पष्ट पारे।
निर्वाचनको वातावरण थप सुरक्षित र विश्वसनीय बनाउन विगतका निर्वाचनभन्दा केही अगाडि नै सेना परिचालन गर्ने निर्णय गरिएको पनि उनले बताए। अघिल्ला निर्वाचनमा सेना तेस्रो घेरामा सीमित हुँदा सुरक्षा प्रभावकारिता कम भएको भन्ने राजनीतिक दलहरूको सुझाव आएपछि यसपटक आवश्यक परे पहिलो घेरामै खटिन सक्ने गरी परिचालनको मोडालिटी तय गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।










