मलेसियाको एन पेनाङ विरुद्ध मछिन्द्रको कठिन जित, सेमिफाइनलमा आर्मीसँग भिड्ने



9,000 SHARES

बिर्तामोड । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै साताैं झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । कठिन प्रतिस्पर्धापूर्ण खेलमा जित निकाल्दै मछिन्द्रले अब त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

सुरुआती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा मलेसियाको तीव्र दबाब सामना गर्नुपरेको थियो । बल पोजिसन बढी राखे पनि मलेसियाले सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

विज्ञापन

खेलको १९औँ मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्सभित्र विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सनिश श्रेष्ठले गोलमा परिणत गरे । गोलकिपरको हातबाट फुत्किएको बल विपक्षी खेलाडीलाई टच हुँदै जाली चुमेको थियो ।

विज्ञापन

मछिन्द्रले ८०औँ मिनेटमा दोस्रो गोल थप्यो । विदेशी खेलाडी जोनाथन जोरिल्लाले मलेसियाका डिफेन्डर मार्टिन डामिलोको खुट्टाबाट फुत्किएको बल चिप गर्दै गोल गरेका हुन् ।

मलेसियाका लागि एक मात्र गोल ६०औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले जाली चुमाएका थिए ।

३५औँ मिनेटमा मछिन्द्रका प्रदीप बुढाथोकी वान–भर्सेस–वान अवसर सदुपयोग गर्न असफल हुँदा गोल अन्तर बढाउने मौका गुमेको थियो । ८८औँ मिनेटमा देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर बाहिरिँदा अर्को अवसर खेर गयो ।

मलेसियाका डेभिड ओलायेको प्रहार गोलकिपर श्रेष्ठले रोकेपछि बराबरीको सम्भावना टर्‍यो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोष्टमा लागेर फर्किँदा मलेसिया कमब्याक गर्न असफल रह्यो ।

खेलको ‘प्लेयर अफ द म्याच’ मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले दैनिक टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । पहिलो दिनदेखि फाइनलसम्म टिकट लिने दर्शकमध्ये एकजनालाई यामाहा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय