|
9,000 SHARES |
झापा । बिर्तामोडस्थित कृषि थोक बजारमा पछिल्लो एक महिनामा रु एक करोड पाँच लाख ९० हजार ८०० बराबरको केरा बिक्री भएको छ
कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीका अनुसार असोज १० गतेदेखि कात्तिक १२ गतेसम्मको अवधिमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले बिक्री भएको हो।
इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानका किसानहरूले केरा बिक्रीका लागि यहाँ ल्याउने गर्छन्।
राजवंशीका अनुसार बिर्तामोड बजारबाट विराटनगर, जनकपुर, काठमाडौँ लगायतका ठाउँमा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा जातका केरा रु ३०० देखि रु ८०० सम्मको दरमा बिक्री हुने गरेका छन्। उनले दसैँ र तिहारको तुलनामा छठ पर्वमा केरा बिक्री अझ बढी भएको बताइन्।
बिर्तामोडको यो कृषि थोक बजार ठूलो व्यापारिक केन्द्रका रूपमा स्थापित छ। यहाँ ताप्लेजुङ, पाँचथर, इलाम लगायतका पहाडी जिल्लाबाट ल्याइने कृषिजन्य वस्तुहरूको विषादी परीक्षण प्रयोगशाला पनि रहेको छ। राजवंशीका अनुसार, यहाँ आउने फलफूल र तरकारीको विषादी परीक्षणपछि मात्र उपभोगयोग्य वस्तु बजार पठाइन्छ।










