|
9,000 SHARES |
झापा । नेपालमा भाद्र शुक्ल तृतीयाको दिन मनाइने हरितालिका तीज हिन्दू महिलाहरूको प्रमुख पर्व मानिन्छ । यस दिन महिलाहरूले भगवान् शिवको पूजाआराधना गर्दै निराहार र निर्जला व्रत बस्छन् । दर खाने, व्रत बस्ने र सामूहिक नाचगान गर्ने परम्पराले यो पर्वलाई विशेष बनाएको छ ।
पौराणिक कथनअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपले प्राप्त गर्न घोर तपस्या गरेकी थिइन् । भगवान् विष्णुको सल्लाहअनुसार उनले व्रत बस्दा शिव प्रसन्न भई वरदान दिएका थिए । त्यही दिनदेखि हरितालिका तीजको परम्परा सुरु भएको बताइन्छ । त्यसैले यसलाई हरिले दिएको तालिकाअनुसार गरिएको पूजा अर्थात् हरितालिका भनिएको हो ।
विवाहित महिलाले दाम्पत्य जीवनको सुखशान्तिका लागि र अविवाहित युवतीले योग्य जीवनसाथी प्राप्त होस् भन्ने उद्देश्यले तीजमा व्रत बस्छन् । तृतीयाको अघिल्लो दिन राति दर खाने चलन छ भने तीजको दिन महिलाहरू बिहानै स्नान गरी दिनभर पानीसम्म नखाई व्रत गर्छन् । साँझ शिव मन्दिरमा पूजा आराधना गरी कन्यालाई टीका लगाई दक्षिणा दिएपछि मात्र फलाहार गर्ने परम्परा छ ।
तीजसँगै गणेश चतुर्थी र ऋषिपञ्चमी पनि विशेष पर्वका रूपमा मनाइन्छन् । भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको आराधना गरिन्छ भने पर्सिपल्ट ऋषिपञ्चमीका दिन महिलाहरूले सप्तर्षिको पूजा गरी रजस्वला अवधिमा भएका त्रुटिको निवारण गर्ने परम्परा छ । नदी वा पोखरीमा ३६५ दत्तिउन प्रयोग गरेर स्नान गर्ने र गनौतीका धान, जौ, तिल आदिबाट अभिषेक गर्ने चलन छ ।
शास्त्रीय तथा धार्मिक महत्त्वसँगै तीजको सामाजिक पक्ष पनि महत्वपूर्ण छ । यसले महिलालाई घरभित्र मात्रै सीमित नराखी बाहिर निस्कन, आफ्ना पीरमर्का पोख्न र सामूहिक सहभागितामा जोडिन अवसर दिन्छ । गीतमार्फत नारीले आफ्ना सुखदुःख, पीडा, घरायसी हिंसा तथा सामाजिक विसङ्गति उजागर गर्ने परम्परा अझै जीवित छ ।
तर पछिल्लो समय मौलिक गीतको सट्टा भड्किला धुन, अत्यधिक शृङ्गार र अंगप्रदर्शनले पर्वको मौलिकता मेटिँदै गएको देखिन्छ । संस्कार र संस्कृति जोगाउन तीजलाई सभ्य र मर्यादित ढङ्गले मनाउनु सबैको कर्तव्य बनेको छ । धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई शुद्ध र सभ्य ढङ्गले मनाउन सक्ने हो भने तीजले समाजलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश दिन सक्छ ।










