कोशीमा सुरु भयो चलचित्र महोत्सव, प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आजदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाङ्कनस्थल निर्माण गर्न बजेट छुट्याउने आश्वासन दिनुभयो । मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्याउने चलचित्र निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।


नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१औँ शताब्दीमा देशको राष्ट्रिता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको बताउनुभयो । उहाँले प्रदेशस्तरमा महोत्सवको आयोजना गर्ने कोशी पहिलो प्रदेश भएको जनाउँदै यस क्षेत्रको विकासका लागि प्रादेशिक विकास बोर्ड गठन हुनुपर्ने माग गर्नुभयो ।


यही जेठ ११ गतेसम्म सञ्चालन हुने कोशी चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन नेपाल चलचित्रकर्मी सङ्घ कोशीले गरेको छ । उद्घाटन समारोहमा स्वागतसहित सम्बोधन गर्दै नेपाल चलचित्रकर्मी सङ्घ कोशीका अध्यक्ष केवल तामाङले प्रादेशिक चलचित्र विकास बोर्ड बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रदेशका भाषाभाषी र जातजातिको मौलिक चलचित्रहरु महोत्सवका क्रममा प्रदर्शन हुने भएका छन् । महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुने भएका छन् । विर्तामोड, विराटनगर, इटहरीलगायत सहरमा छानिएका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने चलचित्रकर्मी सङ्घ कोशी प्रदेश समितिका महासचिव रमेश तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
\

लोकप्रिय

लोकप्रिय