‘मिर्जाफर–मिर्कासिन प्रवृत्तिका बाहिरिएपछि पार्टीमा वैचारिक मतभेद छैन’ : एमाले अध्यक्ष ओली

Share :

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको आज उद्घाटन गरेका हुन् ।

जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिले स्थित एक रिसोर्टमा बैठकको उद्घाटन गरिएको हो । भोलिको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बस्नेछ ।

सो समारोहमा मन्तब्य राख्दै पार्टी अध्यक्ष ओलीले नेकपा एमालेको नीति, कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट भएको जनाए । अरु राजनीतिक दलहरुले एमालेको सिकोमात्र गर्ने हुन्, उनीहरुसँग कुनै मौलिक कार्यक्रम नै नभएको अध्यक्ष ओलीले ठोकुवा गरे ।


‘अरु राजनीतिक पार्टीहरुसँग त केवल एमालेलाई गाली गर्ने बाहेक अरु केही नीति नै छैन, बरु एमाले पार्टीलाई सिध्याउँछौं भन्नेहरु आफैं सिद्धिने लाइनमा छन्’ अध्यक्ष ओलीको भनाई थियो ।

एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न हामी एकतृत, संगठित, अनुशासित, सक्रिय एवम् विस्तारित हुनुपर्छ र मात्र पार्टी मजवुत हुन्छ भन्दै अध्यक्ष ओलीले झापा जिल्ला कमिटीको बैठकले गहन छलफल गरी कार्ययोजनाहरु कार्यान्वयन गर्नुपर्ने निर्देशन दिए ।

उनले जिल्ला कमिटी मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउँदै पार्टीको सदस्य विस्तार एवम् संगठित गरेको अवस्थाका बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।

पार्टी अध्यक्ष ओलीले आफ्नो पार्टीलाई वैचारिक मतभेद नभएको पार्टीका रुपमा चित्रित गर्दै भने, ‘२०७८ साल अघिसम्म केही मतभेद थिए । २००८ सालदेखि सुरु भएका मतभेद ७० वर्षपछि २०७८ मा टुङ्गिएको थियो । पार्टीमा मिर्जाफर–मिर्कासिन प्रवृत्ति देखाएकाहरुले पार्टी टुक्राएर गएपछि यतिबेला वैचारिक मतभेद छैन ।’

‘हामीलाई अब कसैले हराउन सक्दैन । विगतमा आफैंले आफ्नै भित्रका तत्वहरुले सरकार पनि ढालेको हो । पार्टीभित्र त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने आजको आवश्यकता हो’ एमाले अध्यक्ष ओलीको भनाई थियो ।

बैठकका अध्यक्ष, पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले बैठकको कार्यसूचि प्रस्तुत गर्दै भोलि पाँचवटै निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुबाट, १५ वटै पालिकाका इन्चार्जहरुबाट राजनीतिक रिपोर्ट प्रस्तुत हुनेछ भने कार्यालय सचिवले आर्थिक रिपोर्ट प्रस्तुति गर्ने जानकारी दिए ।

बैठकको अर्को कार्यसूचिमा फागुन २१ गते ५१औं सुखानी शहीद दिवसका सन्दर्भमा झापामा सप्ताहव्यापी कार्यक्रम गरी मनाउने विषयमा छलफल हुने, राजनीतिक वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आगामी २०८१ जेठ मसान्तभित्र पार्टीका जिल्ला मातहत सबै तहका कमिटीको अधिवेशन गरिसक्ने सम्बन्धमा जिल्ला कमिटीमा गहन छलफल हुने कार्यवाहक अध्यक्ष गिरीले अपेक्षा राखेको बताए ।

जिल्ला कमिटीका उपसचिव असारु राजवंशीले बैठक उद्घाटन समारोहमा उपस्थित स्थायी कमिटीका सदस्यहरु हिक्मत कार्की, अग्नि खरेलसहित केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रदेश कमिटीका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय