श्रमदानले फेर्दै छ नेत्रपार्कको मुहार

Share :

झापा । राज्यको करोडौं बजेट खर्चेर पनि लथालिङ्ग बनेको बिर्तामोडको नेत्र पार्कको मुहार फेर्दै संचालनमा ल्याउन स्वतःस्फूर्त श्रमदान चलिरहेको छ । श्रमदान गर्ने स्थानीयहरुले नेत्रपार्कमा खटेको आज एक साता हुँदैछ ।

६ दिनसम्म करिव ८ सयजनाले स्वतःस्फूर्त श्रमदान गरिसकेका छन् । श्रमदान गरेको छैटौ दिनसम्म आइपुग्दा नेत्रपार्कको मुहार फेरिएको छ । झाडीले ढाकिएको नेत्रपार्क सुन्दर र आकर्षक देखिएको हो ।

बिर्तामोड नगरपालिका ७ नं वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले माघ ८ गतेदेखि आयोजना गरेको बृहत् श्रमदान अभियानमा स्थानीय क्लब, टोल विकास संस्था, जनप्रतिनिधि, मजदुर, व्यवसायी, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको छ । स्थानीय एनवाईसी क्लब, न्युस्टार क्लब, रेखा टोल विकास संस्था, झोलुङ्गे टोल विकास संस्था, सीताराम टोल विकास संस्था, बाह्रघरे टोल विकास संस्था, सिमसार टोल विकास संस्था, सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता रहेको श्रमदानमा बिर्तामोडभरिकै नगरवासीहरुको सहयोग रहेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो । उहाँले श्रमदानसंगै खाजा, पानी र रंगरोकनको सामानमा पनि स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो ।


पार्कमा रहेका रुख रंगरोकन गर्न बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, २ का वडाध्यक्ष किशोरकुमार पौडेल, पूर्व वडा सदस्य लक्ष्मी बाँस्कोटालगायतले रंग उपलव्ध गराएको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिनुभयो । उनले शेखर कँडेल, विष्णु भट्टराई, राजकुमार संग्रौला, एनवाईसी क्लब, पूजा पौडेललगायतले खाजा, पानीको प्रवन्ध गरिदिएको बताइएको छ । त्यस्तै पदम खत्रीको स्मृतिमा सरोज न्यौपानेले एउटा ट्युवेल गाडिदिएका छन् भने ३ वटा वन ट्युवेल समूहले गाडेको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

शनिवार विदाका दिन करिव दुई सयजना श्रमदानमा खटिएका थिए । प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–२का वडाध्यक्ष किशोरकुमार पौडेल, एमालेका नगर इन्चार्ज देवराज कार्कीलगायत शनिवारको श्रमदानमा सहभागी भएका थिए । भुटानी शरणार्थीहरु तेस्रो राष्ट्र पुनर्स्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो । विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको थियो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको थियो । पोखरी पातपतिङ्गरले पुरिन लागेको थियो भने स्वीमिङ पुल प्रयोगविहीन बनेको थियो ।

श्रमदानसंगै नेपाल सरकारको १०१ गन्तब्यमा पर्न सफल सहिद नेत्रपार्क अब संचालनमा आउने वडाध्यक्ष खरेलले बताउनुभयो । पार्कमा माघ २२ गते प्रेस चौतारी झापाको कार्यक्रम हुन लागेको छ भने माघ २८ गते बिर्तामोड नगरपालिकाको नगरसभा त्यही पार्कमा हुने भएको छ । आगामी शनिवारदेखि पिकनिक संचालन हुनेगरी सबै सेवा सुविधा उपलव्ध गराइने वन समितिका अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय