अर्जुनधारा नगर विकास सहकारीद्वारा धानको मुल्य निर्धारण, कृषकलाई राहत

Share :

झापा । अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारीले कृषकले उत्पादन गरेको धानको मुल्य निर्धारण गरेको छ । सहकारीसंग समन्वय गरेर कृषकले यो बर्ष उत्पादन गरेको धानको खरिद मुल्य सहकारीले तोकेको हो ।

रंजित धान प्रति मन १७ सय ४० रूपैयाँ, हर्दीनाथ ६ प्रति मन १८ सय रूपैयाँ, राम धान र बिबि ११ प्रति मन १५ सय २० रूपैयाँ, गरिमा प्रति मन १७ सय ४० रूपैयाँ, जिरा मसिनो र सम्भा मंसुली प्रतिमन १८ सय ५० रूपैयाँ र लक्का/कालो नुनियाको प्रति मन ३७ सय रुपैयाँ मुल्य निर्धारण गरिएको सहकारी अध्यक्ष प्रत्युस रानाले जानकारी दिनुभयो ।

अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारीले यो बर्ष कृषकबाट २ लाख केजि धान खरिद गरेको छ । खरिद गरिएको धानबाट ८२ हजार ७ सय २३ केजि धान बिउका लागि गुणस्तरीय रहेको सहकारीका कृषी प्राविधिक कुलचन्द्र गौतमले जानकारी दिनुभयो ।


यो बर्ष संस्थाले ५४ हजार केजि रंजित धान, १२ हजार १५ केजि राम धान, १२ हजार ९ सय ९३ केजि हर्दीनाथ ६, १ हजार ७१ केजि गरिमा, ८ सय ७ केजि जिरा मसिना, ३ हजार ३ सय ९९ केजि लक्का बासमती, ४ हजार ८ सय ४९ केजि बिबि ११ र ४ हजार ३ सय ९२ केजि सम्भा मंसुली धान बिउका लागि छनोट गरिएको कृषि प्राविधिक गौतमले बताउनुभयो ।

बिउका लागि गुणस्तर नपुगेका धान भने खाद्यान्यका लागि बिक्री हुने सहकारीले बताएको छ । खाद्यान्यका लागि बिक्री हुने धानको मुल्य समेत निर्धारण गरिएको छ । रंजित प्रति मन १६ सय ४० रुपैयाँ र लक्का बासमती प्रति मन ३५ सय रुपैयाँ मुल्य निर्धारण गरिएको सहकारीका अध्यक्ष रानाले बताउनुभयो ।

अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारीसंगको समन्वयमा यो बर्ष अर्जुनधाराका वडा नम्बर १, ४, ७, ९, १० र ११ का ६० जना भन्दाबढी कृषकले धान उत्पादन गरेका थिए । त्यस्तै चाँदनी सहकारीले समेत यो बर्ष धानको बिउ उत्पादन गरेको थियो । यो बर्ष करिब ८० विगाह क्षेत्रफलमा उत्पादन गरिएको धान सहकारीले खरिद गरेको हो । खरिद गरिएको धान प्रसोधन गरेर सहकारीले बिउका लागि बिक्री गर्ने छ ।

अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारीका अध्यक्ष रानाले कृषकलाई बजार मुल्यको भन्दा बढी मुनाफा हुने गरि सहकारीले धानको मुल्य निर्धारण गरेको बताउनुभयो । कृषकहरुलाई व्यवसायीक बनाउदै आर्थिक स्तर उकास्न सहकारीले खासगरि कृषि क्षेत्रमा विभिन्न कार्यहरु गरिरहेको उहाँले बताउनुभयो । कृषकसंग नजिक रहेर काम गरिरहेको सहकारीले धान उत्पादक कृषकको समेत राय लिएर खरिद मुल्य निर्धारण गरेको हो ।

आज सहकारीको कार्यालय स्थलमा धान उत्पादक कृषक, अर्जुनधारा नगरपालिकाका कृषि शाखाका कर्मचारी, अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारीका संचालक तथा कर्मचारी, नगरपालिकाको आर्थिक विकास समितिका पदाधिकारी, सहकारीसंग समन्वय गरेर धान उत्पादन गरेका अन्य सहकारी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका संघसंस्थाहरुको उपस्थितिमा धानको मुल्य निर्धारण गरिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रति क्वीन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धान प्रति क्वीन्टल तीन हजार तीन सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय