अर्जुनधारामा धुमधामसाथ मनाईयो चासोक तङनाम, १६ तस्बीर…

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । अर्जुनधारा नगरस्तरीय चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा अर्जुनधारा–१ स्थित मदनपुरमा आयोजित चासोक तङनाम पर्व बिशेष ३ दिने कार्यक्रम आज भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक झाँकी प्रदर्शन, भेट्रान फुटबल प्रतियोगिता, आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ, छेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगितालगायतको कार्यक्रम आयोजना गरिएको थियो । समितिका अध्यक्ष राजेश जबेगुको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गर्नुभएको थियो ।


प्रमुख अतिथि तामाङले स्थानीय सामाजिक व्यक्तित्व रत्न हाङसुरुम्बाको सहयोगमा खेलमैदान परिसरमा निर्माण गरिएको लिम्बू समुदायको सांस्कृतिक बाजा ‘च्याब्रुङ’को प्रतिरुपसहितको च्याब्रुङ स्तम्भको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराले साकेला सिली, नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराले सेलो नाच, अर्जुनधारा–१ स्थित नालिफुङवा माङलाङ केलाङ टोली र अर्जुनधारा–१०स्थित चोमोलुङ किरात याक्थुम केलाङ समाजले केलाङ माङलाङ, धिमाल जाती विकास केन्द्र पथरीशनिश्चरेले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा स्वास्थ्य क्षेत्र दीर्घ सेवा सम्मानबाट अर्जुनधारा–९ निवासी लालबहादुर लिम्बू ‘सुब्बा डाक्टर’लाई सम्मान पत्र र दोसल्ला ओढाई नगद पाँच हजारबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा किरात याक्थुम चुम्लुङ राष्ट्रिय परिषद् सदस्य कृष्णकुमार थेवेले चासोक तङनामको औचित्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सीताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गीताराज खड्का ‘हरि’ र भूपेन्द्र न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, नेवा देय दबु अर्जुनधाराका अध्यक्ष रुद्रमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागीहरुलाई किरात मौलिक परिकारहरु प्रसादका रुपमा वितरण गरिएको थियो । समितिका सदस्य मोहन सुब्बाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र लिङदेन र सदस्य वीजेन्द्रकुमार एक्तेनले संयुक्तरुपमा गर्नुभएको थियो ।

थप तस्बीरहरु :

 

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
2
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय