बिर्तामोड । झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।
बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेलमा नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच प्रतिस्पर्धा हुँदै छ ।
आजको खेलको विजेताले उपाधिकालागि १६ गते आयोजक ‘अल इन वान’ क्लब बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको छ । उसले कम्तिमा १ लाख १ हजार पुरस्कार सुरक्षीत गरेको छ ।
आज हुने नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान छ । दुवै टोलि फाइनल प्रवेश गर्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् ।
नमोबुद्ध सप्तरीले क्वाटरफाइनलमा ताप्लेजुङ महिला फुटबाल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
गाईघाट फुटबल क्बल उदयपुरले धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।