बिर्तामोडमा ‘सेकेन्ड मिस्टर कञ्चनजंघा बडिविल्डिङ च्याम्पियनसीप’ हुने

Share :

झापा । दुई वर्षअघि प्रदेशस्तरीय फस्ट मिस्टर कञ्चनजंघा बडीविल्डिङ च्याम्पियनसीप प्रतियोगिता सफल रुपमा सम्पन्न गरेको बडी ग्यारेज बिर्तामोडले दोश्रो संस्करणको तयारी थालेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित पुरानो भद्रपुर रोडमा ५ वर्ष अघिदेखि संचालनमा रहेको बडी ग्यारेजले आगामी जेठ १२ र १३ गते सेकेन्ड मिस्टर कंचनजंघा बडिविल्डिङ च्याम्पियनसीप गर्ने भएको हो । पहिलो प्रतियोगिताको हौसला र खेलप्रेमीहरुको साथ पाएर यस वर्ष कोशी प्रदेशस्तरीय बडिविल्डिङ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिएको बडी ग्यारेजले आज शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ । बिर्तामोडको ग्राण्ड प्यासिफिक होटलमा पत्रकार सम्मेलन गर्दै आयोजक वडी ग्यारेजले प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौँथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौ पुरस्कार ७५ हजार रुपैयाँ छ । साथै हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ र साथमा मेडल र ट्रफीसमेत प्रदान गरिने प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । उनले काठमाडौं उपत्यका बाहिरको ठूलो धनराशि र सुविधा भएको प्रतियोगिता आफूहरुले आयोजना गरेको बताएका छन् ।


प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै ९ लाख ६१ हजार १ सय ११ रुपैयाँ छुट्याइएको सो प्रतियोगिताका लागि २४ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो संस्करणभन्दा दोस्रो संस्करणमा पुरस्कारको राशि बृद्धि गरिएको आयोजक समितिका सचिव राजेश गिरीले जानकारी दिए ।

प्रतियोगिता गराउन प्रदेश वोर्डले १० लाख रुपैयाँ सहयोग गर्ने वडी ग्यारेजका सञ्चालक तथा प्रतियोगिता संयोजक राम दाहालले जानकारी दिएका छन् ।वडी ग्यारेजले यसअघि २०७८ फागुन २७ र २८ गते पहिलो संस्करण आयोजना गरिएको थियो । त्यस प्रतियोगिताको उपाधि विकास तामाङले जितेका थिए । बडी विल्डिङ च्याम्पियनसिपको फाइनलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी तामाङले उपाधि हात पारेका थिए । यस पटक पनि ६० जना भन्दा धेरै बडीबिल्डरहरुले सहभागीता जनाउने आयोजकको अपेक्षा छ ।

पत्रकार सम्मेलन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी , युवा व्यवसायी आदित्य पराजुली , बिर्तामोड प्याव्सन अध्यक्ष उत्तम खनाल, बिर्तामोड नगर खेलकुद विकास समितिका सदस्य बिकी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

तालिका अनुसार जेठ १२ गते बिर्तामोडको अतिथि सदनमा प्रिजजिङ र जेठ १३ गते साई प्यालेसमा फाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय