आठौं ऊर्जा सम्मेलन आजदेखि, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने

Share :

काठमाडौं । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।


साथै सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि गरिने इपानका अध्यक्ष एवम् सम्मेलन संयोजक आशिष गर्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा विद्युत्को लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ । सम्मेलनका क्रममा लगानी बोर्ड नेपाल तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय