युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी

Share :

बिर्तामोड । व्यापार–व्यसाय क्षेत्रमा कार्यरत् कामदार–कर्मचारी र व्यवसायीवीच उत्पन्न हुने विवादलाई सामाजिक संवादका माध्यमबाट दीगो समाधानका लागि नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन ‘युएनआई ग्लोबल युनियन’ सँग आवद्ध युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच संवाद समूह झापाको संयोजनमा स्थानीयतह र सरकारी निकायका प्रतिनिधिहरु तथा अन्य सरोकारवाला समेतको रोहवरमा दुबै पक्षको परस्पर हितका लागि सामाजिक सम्वादका माध्यमबाट भएको ११ बुँदे समझदारी गरिएको होे ।

विवाद तथा समस्या समाधानका लागि विभिन्न चरणको वार्ताबाट तय भएको दुईपक्षीय समझदारी पत्रमा युनिकम नेपालका तर्फबाट केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका तर्फबाट अध्यक्ष टीकाराज ढकालले हस्ताक्षर गरेका हुन् ।


श्रम तथा रोजगार कार्यालय भद्रपुरका कार्यालय प्रमुख दुर्गा आचार्य, श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदी, युएनआई ग्लोवल युनियन एशिया प्रशान्त संगठन तथा कार्यक्रम संयोजक तिलकजंग खड्का र संवाद समूह झापाका सहजकर्ता अर्जुन राजवंशीको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

युएनआई ग्लोबल युनियन एशिया प्रशान्त संगठन तथा कार्यक्रम संयोजक तीलकजंग खड्काले स्वागतसहित समझदारी पत्रको औचित्यमाथि प्रकाश पार्दै श्रम बजार अव्यवस्थित हुँदा त्यसको नकारात्मक असर उद्योगी, व्यवसायी, श्रमिक, ग्राहक र त्यसका अन्य सरोकारवालाहरु समेतलाई प्रत्यक्ष रुपमा पर्ने भएकाले प्रचलित श्रम कानून तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी गरिएको जनाए।

समझदारी पत्रमा कोशी प्रदेशका उद्योग र व्यापार क्षेत्रमा काम गर्ने सम्पूर्ण मजदुर कर्मचारीलाई रोजगारसम्बन्धी स्थापित हुने फोटोसहितको परिचयपत्र एवं नियुक्तिपत्र अनिवार्य गरिने , साप्ताहिक बिदा, सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउने, व्यवसायीको दायित्व र कर्तव्य दुवै हुने, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति, भविश्यमा आउनसक्ने विभिन्न प्रकारका महामारी वा प्रकोपमा रोजगारदाता तथा कामदार कर्मचारीको सुरक्षाका लागि दुवै पक्ष मिलेर कार्य गर्ने, नेपालको संविधान, २०७२, श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ अनुसार श्रमिकको सङ्गठित हुन पाउने अधिकारलाई कुण्ठित नगर्ने नगराउने कार्यमा प्रतिबद्ध रहने उल्लेख छ ।

त्यस्तै श्रम ऐनलगायतका ऐन कानुनको कार्यान्यवयन र श्रम विवाद समाधानका लागि सरोकारवाला सरकारी निकाय र स्थानीय सरकारसँग समन्वय गरिने ,कामदार कर्मचारीले आफूले कार्य गर्ने उद्योग व्यापार व्यवसाय प्रतिष्ठानप्रति सम्मान गर्नुपर्ने, त्यसको भौतिक सम्पत्ति र ख्याति, व्यावसायिक रणनीति, योजना, बैद्धिक सम्पत्ति, व्यावसायिक विचार आदिको चोरी तथा दुरुपयोग गर्न नपाइने त्यसो गरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने ,कुनै कामदार तथा कर्मचारीले अफू कार्यरत प्रतिष्ठान पसलमा काम छाड्दा नगद, जिन्सी, हरहिसाब अनिवार्य फरफारक गरेर मात्रै दुवै पक्षले छाड्ने छोडाउने त्यसो नगरिए कानुनबमोजिम कारबाही अघि बढाउने ,कामदार कर्मचारीले कार्य अनुशासनको पूर्ण पालना गर्ने दुवै पक्षबाट कार्यस्थलमा लैङ्गिक हिंसा गर्न नपाइने, दुवै पक्षबाट सहकार्य सहअस्तित्व, सदाचारिता र मर्यादा प्रकट गर्ने, श्रमिक र रोजगार दाताका प्रतिनिधि राखी श्रम विभाग समाधान समिति गठन गर्ने ,समिति गठनका लागि उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पाँच जना प्रतिनिधि र युनिकम नेपालका पाँच जना प्रतिनिधि रहने सहमति भएको छ ।

त्यसैगरी कोशी प्रदेशमा श्रम शोषण, लैङ्गिक हिंसा, बालश्रम शोषण वा युनिकम नेपालका सदस्य कामदार कर्मचारीले खराब आचरण, व्यापार व्यवसायमा हानी नोक्सानी गरेको विषयमा उजुरी परेमा संयुक्त श्रम विवाद समाधान समितिमार्फत तत्काल छानविन गरी आवश्यक कारबाही अघि बढाइने ,उद्योग व्यापार व्यवसाय तथा कामदार कर्मचारीको हितलाई मध्यनजर गरेर स्वस्थ औद्योगिक सम्बन्धलाई जोड दिँदै प्रत्येक वर्ष युनिकम नेपाल र उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले संयुक्तरुपमा समीक्षा बैठकको आयोजना गरी आगामी सम्भावित सहकार्यलाई अगाडि बढाउने समझदारी पत्रमा उल्लेख छ ।

समझदारी पत्रमा हस्ताक्षरपछि युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टीकाराज ढकालले समझदारीले व्यवसायी तथा कर्मचारीबीचको सम्वन्ध सुमधुर हुने बताए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले संवाद समूहको संयोजन र सरोवालाहरुको समन्वयमा युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच ११ बुँदे समझदारी भएकोमा उक्त कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन युनिकम नेपालका प्रेस सल्लाहकार केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय