बिर्तामोड । ‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै आम हड्तालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बिर्तामोडबाट ६ जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिर्तामोडबाट पक्राउ पर्नेमा मित्र लिङदेन, सामी पालुङ्वा, आईदेव राई लगायत रहेको संघीय लिम्बुवान पार्टीका कोषाध्यक्ष एल.पी. पालुङ्वाले जानकारी दिनुभयो । उहाँले प्रदेशभरबाट ‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै आम हड्तालमा उत्रिएका ५ सय भन्दाबढीलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
प्रहरीले नियन्त्रण गरेपनि हड्तालको कार्यक्रम भने निरन्तर रहने पालुङ्वाले बताउनुभयो । शान्तिपुर्ण रुपमा भएको हडतालमा प्रहरीले दमन गर्नु दु:खद भएको उहाँले बताउनुभयो ।
प्रहरीले बन्दको नेतृत्व गरिरहेका बन्दकर्तालाई नै नियन्त्रणमा लिएपछि अहिले बिर्तामोडमा सवारी साधनको संचालन केही सहज भएको छ । आज बिहानैबाट बाक्लो संख्यामा बन्दकर्ता सडकमा उत्रिएका थिए ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति र बिभिन्न राजनैतिक दल तथा पहिचानवादी जातिय संगठनहरुले बन्दको आवहान गरेका थिए । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले बिभिन्न ४० वटा संघसंगठनको समर्थनमा संयुक्त हडतालको आयोजना गरेको समितिका झापा संयोजक पाण्डवलाल चौधरीले बताउनुभयो ।
प्रदेशका १४ वटै जिल्लामा बिस्तार भएको समितिले फाल्गुन २७ गते साँझ राँके जुलुस प्रदर्शन गरेको थियो । चैत्र ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।