फागुन ५ गतेदेखि बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

Share :

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ संचालन हुने भएको छ । यही फागुन ५ गतेदेखि १५ गतेसम्म महोत्सव संचालन हुने संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो । बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा महोत्सव आयोजना हुने महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने जानकारी दिनुभयो ।

नेपालमा उत्पादित कृषिवस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शन र प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्नेजस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको संयोजक न्यौपाने बताउनुभयो । नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले विभिन्न निकायहरुको सहकार्यमा महोत्सव हुन लागेको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो।


संघका महसचिव अर्जनकुमार मैनालीले व्यापार महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको बताउनुभयो।

महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करिब २५० स्टलहरु रहने बताइएको छ । ३ लाख दर्शकले अवलोकन गर्ने तथा ४५ करोडको कारोबार हुने संघले अनुमान गरेको छ ।

महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्रमा विभाजन गरिएको हो । प्रदर्शनीकक्षमा अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारीपोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

त्यस्तै, महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहनेछ । अक्टानोर्म तथा डोम विधिबाट विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृत्तियुक्त मुलप्रवेशद्वार तथा सेल्फी जोनको निर्माण गरिनेछ ।राष्ट्रिय तथा प्रदेशिक कलाकारहरुको प्रस्तुति, फेसनसो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहनेछ ।

बाल उद्यानक्षेत्रमा विभिन्न शाहसिक तथा मनोरञ्जनात्मक खेलहरु रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका विभिन्न स्टलहरु रहनेछ । महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, शौचालय खानेपानी तथा पार्किङको व्यवस्था गरिनेछ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय