अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

Share :

अर्जुनधारा । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अर्जुनधारा–७ स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष प्रत्युष आजाद रानाको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो ।

साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि गोम्देनले नगरका कृषकहरुको स्तरोन्नति बढाउन र विचौलियाबाट ठगिने कार्यको अन्त्य गर्न अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थालाई आग्रह गर्नुभयो । सभामा समितिका अध्यक्ष रानाले संस्थाको आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक विनोद आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनमा शेयर सदस्य अगुवा कृषकका लागि अभिमुखिकरण तालिम, धानको मूल तथा उन्नत विउ, विजन खरिद र वितरण, वडा इकाई स्तरमा तदर्थ समिति गठन र परिचालन, पकेट कार्यक्रम सञ्चालन, पशुपन्छी विमा कार्यक्रम, कृषि प्राविधिक सेवा तथा वाली संरक्षण कार्यक्रम सञ्चालन भएको उल्लेख गरिएको छ । त्यसैगरी संस्था सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधिको निर्माण, कृषि उपकरणको खरिद र व्यवस्थापन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने मल खादको व्यवस्थापन, निक्षेप संकलन तथा शेयर सदस्य विस्तारको लागि कर्मचारी परिचालनलगायतको कार्यक्रम सञ्चालन गरेको छ।


जम्मा शेयर पूँजी ३४ लाख २९ हजार आठ सय रहेको संस्थाले गत आर्थिक वर्षको जम्मा आम्दानी ६० लाख १४ हजार एक सय ८६ रुपैयाँ छ पैसा रहेको छ । सभामा झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष नारद तामाङ, वडाध्यक्षद्वय गोविन्दप्रसाद खतिवडा र हरिशचन्द्र बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उपाध्यक्ष छत्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख पदमलाल राई, योजना शाखा प्रमुख हेमराज सेढाईं, वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र इङ्नाम, वडा नं. ३ का अध्यक्ष सीताराम भट्टराई, वडा नं. ६ का वडाअध्यक्ष हरिचन्द्र बास्तोला, कार्यपालिका सदस्यहरु गौरीमाया चिमरिया, बिमला रोक्का, चन्द्रकुमारी तामाङ, यान्त्रिक समिति सदस्य सर्मिला सुब्बा, टेकबहादुर पोखरेल, अर्जुन मेचेलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय