शनिश्चरे । अर्जुनधारा नगरपालिकाले बिधुतीय कर सङकलन प्रणाली शुरु गरेको छ । आइतबार नगरपालिकामा एक समारोहको आयोजना गर्दै बिधुतीय कर सङकलन प्रणाली शुरु गरेको हो । कार्यक्रममा नगरप्रमुख बलदेव गोम्देन तामाङले नगरपालिकाले थालनि गरेको करदाता पोर्टलको लग-इन गर्दै बिधुतीय कर सङकलन प्रणाली शुरु गर्नुभएको थियो । कार्यक्रममा नगरका सुचना प्रविधि अधिकृत बिनोद खनालले अनलाइन प्रणालीबाट पहिलो पटक कर भुक्तानी गर्नुभएको थियो ।
बिधुतीय कर सङकलन प्रणाली लागु भएसंगै सेवाग्राहीहरु अब नगरमा कर तिर्दा कार्यालय जानुपर्ने, लाइन बस्नुपर्ने लगायतका झन्झटबाट मुक्त हुने सुचना प्रविधि अधिकृत खनालले जानकारी दिनुभयो । अनलाईन कर सङकलन प्रणालीको माध्यमबाट नगरक्षेत्रभन्दा बाहिर रहेका सेवाग्राहीसमेत लाभान्वित हुने उहाँले बताउनुभयो । सरकारले अघि सारेको ’हरेक सरकारी कार्यालयमा लाइन बस्नु नपर्ने’ नीतिलाई यश कार्यक्रमले सहयोग पुग्ने मेयर बलदेव गोम्देनले बताउनुभयो । उहाँले चुनाव ताका आफुहरुले प्रविधि मैत्री नगरपालिकाको परिकल्पना गरेको र अहिले त्यो पुरा हुने चरणमा रहेको बताउनुभयो । गोम्देनले सुचना प्रविधि झै अरु शाखालाई पनि नयाँ कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।
कनेक्ट आईपिएस, ईसेवा, खल्ती, आईएमई पे तथा प्रभु पे लगायतका एप्लिकेसनबाट कर तिर्ने ब्यवस्था मिलाईएको खनालले जानकारी दिनुभयो । बिधुतीय कर सङकलन प्रणालीसंगै हरेक वडा कार्यालयबाट सेवाग्राहीले क्युआर कोडको प्रयोग गरि अब अन्य रकम समेत अनलाइन प्रणलीबाटै भुक्तानी गर्न सक्ने बताइएको छ ।
अनलाईन कर प्रणाली प्रयोग गर्ने झापामा अर्जुनधारा दोस्रो स्थानीय तह हो । यसअघि कनकाई नगरपालिकाले यो सुविधा शुरु गरिसकेको छ ।