पार्टी निर्देशन अनुरुप चल्न कार्यकर्तालाई काङ्ग्रेस नेता गुरुङको आग्रह

Share :

बिर्तामोड । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा केन्द्रीय चुनाव प्रचारप्रसार समिति सदस्य जलकुमार गुरुङले पार्टीको निर्देशन अनुरुप अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
झापा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी प्रचार अन्तर्गत सोमबार बिर्तामोड–४ को आदर्श व्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आफ्नो सिद्धान्तबाट विचलित नभई पार्टीको निर्देशनअनुरुप अगाडी बढ्न कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘पार्टीले दिएको निर्देशन जिन्दगीमा छोड्नु हुँदैन,’ उनले भने,‘हामी बीसौँ बर्षदेखि पार्टीमा लागेको मान्छे एकछिन दाँयाबाँया हुँदा केहि हुँदैन, आफूले लिएको उद्धेश्य छोड्नु हुँदैन अनि मात्र लक्ष्यमा पुग्न सकिन्छ ।’
यसो गर्दा हुन्छ कि उसो गर्दा हुन्छ कि भनेर मन डुलाएर केहि नहुने उनको भनाई थियो । उनले आफुले लिएको लक्ष्य र सिद्धान्त भन्दा दाँयाबाँया नगर्न वडाबासीहरुलाई आग्रह गरे । उनले आजैबाट आफ्ना उम्मेदवारहरुलाई जिताउनका लागि गाउँटोलमा पुगेर काम गर्न सबैलाई आग्रह गरे ।

क्षेत्र नम्बर २ (१) का प्रदेशसभाका उम्मेदवार पुष्प पोखरेलले यो संविधान च्यात्ने र संविधान बचाउने बिचको चुनाव भएको बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका केन्द्रीय नेताहरुले संविधान रक्षाका लागि एकजुट हुनुपर्छ भन्ने सहमति गरेका कारण गठबन्धन भएको बताए । उनले नेकपा एमालेका कार्यकर्ताहरुले गठबन्धन दलका मतदाताहरुलाई भ्रम सिर्जना गरिरहेको उनको भनाई थियो । पोखरेलले पटक पटक संसद विघटनको दुस्प्रयास गरेको एमालेका सांसदहरुले विघटनको प्रयासपछि पनि तलबभत्ता भने निरन्तर बुझेको भन्दै आश्चर्य व्यक्त गरे । कामै नदिने संसद थियो भने त्यहाँ उपस्थित भएर तलबभत्ता लिन नहुने उनले धारणा राखे ।
पोखरेलले बिर्तामोडमा फोहोर, अव्यवस्थित शहरीकरण, नदी नियन्त्रण, ढल निकास लगायत समस्या रहेकाले आफूहरुले जनतासँगको प्रत्यक्ष समन्वयमा ती समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै प्रतिनिधिसभाको साझा उम्मेदवार बनेका हरिकुमार रानाले सुशासनको हुँकार गर्ने नेकपा एमालेले आफू अनुकूल नहुँदा संसद नै भङ्ग गर्ने दुस्प्रयास गरेको बताए । केपी ओली जनताको जनमतबाट प्रधानमन्त्री बनेपनि आफूलाई हिट्लर सम्झिएको उनको भनाई थियो । नेपालको इतिहासमा भएका ठूलाठूला परिवर्तनमा दलहरु एक ठाउँ हुँदै आएको स्मरण गर्दै वर्तमान समयमा संविधान रक्षाका लागिपनि यो गठबन्धन आवश्यक भएको रानाले बताए । उनले हिजो आफूले लामो समय अर्जुनधारामा जनप्रतिनिधी भएर गरेको काम हेरेरपनि मत दिन सबैलाई आग्रह गरे ।
निर्वाचन मूल परिचालन समिति क्षेत्र नम्बर २ का संयोजक, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धन अहिलेको आवश्यकता भएकाले मनमा कुनै शंकाउपशंका नराखी गठबन्धन दलका नेताहरुलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा क्षेत्रीय प्रचारप्रसार समितिका सहसंयोजक तीर्थ सिग्देल, सचिव सीपी कडरिया, नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा प्रदेश प्रचारप्रसार समिति संयोजक लक्ष्मी आचार्यलगायत गठबन्धनमा आवद्ध दलका प्रदेश, नगर तथा वडासमितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
लोकतान्त्रिक–बाम गठबन्धन चुनाव प्रचारप्रसार समिति बिर्तामोड–४ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसका वडासभापति राम पौडेलले गरेका थिए । कार्यक्रममा सहभागीलाई प्रचारसमितिका सहसंयोजक तथा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष गोपी अधिकारीले स्वागत गरेका थिए भने नेपाली कांग्रेसका वडा सचिव चन्द्र तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय