‘सन्थाल’ पहिचानबाट ‘सतार’ शब्द हटाउन माग

Share :

झापा । पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरुले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्ने सहमति गरेका छन् । यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने भन्नेमा लामो समयदेखि विवाद थियो । उनीहरुले अब “सतार” शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । “सतार” शब्दले आफ्नो समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पुर्याएको भन्दै उनीहरुले त्यसलाई तत्काल हटाउन सरकारसंग माग गरेका छन् ।

झापाको कनकाई ३ स्थित सुरुङ्गामा सन्थाल समुदायका प्रतिनिधि संस्था, अगुवा, वुद्धिजीवी, जनप्रतिनिधिसहितको गोलमेच छलफलबाट विवाद टुङ्ग्याउदै समुदायको पहिचान, प्रतिष्ठा र अधिकारको लडाइमा एकजुट भएर अघि बढ्ने सहमति जुटेको हो । उनीहरुले पहिचानको साझा नाम ‘सन्थाल’ पारित गरेका हुन् ।


‘समुदाय बुझाउने नाम सन्थाल, सन्ताल, सन्ताड के राख्ने भन्नेमा समदायभित्रै लामो समयदेखि फरक तथ्यका आधारमा विवाद भई विभाजित रहदै आएको अवस्थामा समुदायवीचको एकता, सद्भाव र अधिकार प्राप्तिको सवाललाई प्राथमिकतामा राख्दै, नेपाल र भारतको संविधानमा समेत ‘सन्थाल’ उल्लेख भएको मनन गर्दै हाम्रो समुदायको पहिचानको सम्मानित र साझा नाम “सन्थाल” लेख्न लेखाउन हामी सहमत छौं’–सहमतिमा उल्लेख छ ।

त्यस्तै सन्थाल समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पुर्याउने “सतार” शब्द नागरिकता, नेपाली शब्दकोष लगायतका सरकारी प्रमाणपत्र तथा सरकारी दस्तावेज, पुस्तकहरुमा उल्लेख गर्नुका साथै अझै सरकारी कामकाजमा उक्त शब्द चलनचल्तीमा रहेकोप्रति गोलमेच संवादमार्फत दुःख व्यक्त गरिएको छ । यसअघि जारी भएका सबै नागरिकता, अन्य प्रमाणपत्र , दस्तावेज, रेकर्ड तथा पुस्तकहरुमा उल्लेख भएका “सतार” शब्द तत्काल सच्याएर सन्थाल उल्लेख गर्ने व्यवस्था मिलाउन तथा अब जारी हुने प्रमाण कागजमा समेत सन्थाल लेख्न लेखाउन तीनै तहका सरकारसमक्ष उनीहरुले जोडदार माग गरेका छन् ।

उक्त विषयमा असार ११ गते झापाका राजनीतिक दलहरुको सामुहिक निर्णयबाट यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको विषय पनि स्मरण गराइएको छ । सन्थालहरुका लागि जारी हुने नागरिकता लागयत सबैखाले प्रमाणपत्र तथा दस्तावेज, रेकर्डहरुमा नामको पछाडि जातिका वास्तविक थरहरुः बेस्रा, मुर्मु, मार्डी, सोरेन, हास्दा, बास्के, हेमरम, चोडे, पौरिया, किस्कु, टुडु र बेदिया उल्लेख गर्न तथा समुदाय बुझाउने नाम सन्थाल प्रयोग गर्न गराउनसमेत गोलमेच संवादमार्फत माग गरिएको छ ।

त्यसैगरी आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोपोन्मुख तथा आदिवासी सन्थाल जातिको संवैधानिक र राजनीतिक अधिकारप्रति सम्मान गर्दै गर्दै अर्थपूर्ण तथा सार्थक सहभागिता सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरुसंग गोलमेच संवादमार्फत माग गरिएको छ । सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहराय पूजामा सार्वजनिक विदाको व्यवस्था गर्न पनि उनीहरुले तीनै तहका सरकारसंग माग गरेका छन् ।

नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, रिलोमाला सन्थाली अखडाका केन्द्रीय अध्यक्ष रिमिल श्यामसुन्दर बेस्रा, जिल्ला समन्वय समिति झापाका सदस्य सन्तोष सोरेन, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य भगन टुडु लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय