बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु

Share :

झापा । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबारदेखि शिविर सुरु गरीएको हो ।

शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नुभयो । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सुरु गरीएको शिविर असोज ६ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुई सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगकाकारण केहि समय अघि नगरका २ नम्बर, ८ नम्बर लगायत विभिन्न वडामा पशु चौपायमा क्षति पुगेको बताउनु भयो । उहाँले कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले धेरै सहज नभएपनि हरेक वर्ष यो शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै हार्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले सडक सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताउनु भयो । उहाँले बिर्तामोडमा वर्षमा २ पटकसम्म वन्ध्याकरण शिविरको आयोजना गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गर्ने योजना बनाईरहेको पशुपंछि तथा मत्स्य विकास शाखाले जनाएको छ । शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया, शाखा अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय