चुनाव सफल पार्न झापाका १२ राजनीतिक दलको सात बुँदे साझा प्रतिबद्धता

Share :

विर्तामोड । झापाका राजनीतिक दलहरुले स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोडमा भएको जिल्लका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरुले खेल्नुपर्ने भूमिकाका बारेमा भएको विस्तृत छलफलमा दलका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


छलफलमा सहभागी १२ वटा दलका प्रमुख तथा प्रतिनिधिले विभिन्न सात बुँदे साझा प्रतिबद्धता घोषणा गरेका छन् ।

छलफलमा दलहरुले निर्वाचन आचार–संहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने, राजनीतिक दलका प्रतिनिधि एक अर्काे दलको सहअस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार र स्वस्थ प्रतिस्पर्धा गर्ने र राजनीतिक दलको तर्फबाट जारी गर्ने घोषणापत्रमा आम नागरिकमा परिवर्तनको अनुभूति हुने गरी समृद्ध स्थानीय तह निर्माणका समग्र विषय समेट्ने तथा घोषित कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा निर्वाचनका लागि घोषणापत्र तयारीबारे दलका नेताहरुले जानकारी गराएका थिए भने समेटिनुपर्ने विषयबारे प्रतिबद्धता जनाएका छन् ।

एमाले झापाका अध्यक्ष दिपक कार्कीले निर्वाचन आचारसंहिताप्रति आफ्नो पार्टी सचेत र प्रतिबद्ध रहेको बताउँदै नेतृत्वबाट आचारसंहिता उल्लंघन नहुने बताउनुभयो ।

उहाले कहीँकतै उल्लंघन भएको पाइएमा तत्काल पार्टी नेतृत्वलाई सूचित गर्न समेत आग्रह गर्नुभयो ।उहाले सबै दलहरु एकजुट भएर संघीयता जोगाउनुपर्ने र चुनावको खर्च बचाउनुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।

छलफलपछि प्रतिक्रिया दिदै कार्कीले अन्य दलहरुलाई गठबन्धन गर्ने बाध्यता भए पनि गठबन्धनले आफुहरुलाई खासै फरक नपार्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले गठबन्धन बाहेकका अन्य दलहरु सहकार्य गर्न आएमा आफ्नो दलले सधै ढोका खुल्ला राख्ने समेत बताउनुभयो ।

कांग्रेस झापाका सभापति देउमान थेवेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आफ्नो पार्टीले सबै दलसँग सहकार्यात्मक ढंगले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

थेवेले आफ्नो पार्टीको घोषणापत्रमा पूरा गर्न सक्ने र स्थानीय आवश्यकता अनुसारका सबै विषय समेटिने बताउनुभयो ।उहाले आदिवासी जनजाति, अल्पसंख्यक, पछाडि पारिएका समुदायका पहिचान, अस्तित्व र अधिकारका विषयलाई समेत प्राथमिकतामा राख्ने बताउनुभयो ।

छलफलपछि प्रतिक्रिया दिदै थेवेले निर्वाचनका लागि उम्मेद्धार छनोट र गठबन्धन दलबिच सहकार्य गर्ने बिषयमा कांग्रेसले गृहकार्य गरिरहेको बताउनुभयो ।

छलफलका क्रममा माओवादी केन्द्रका संयोजक अग्नि आचार्यले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन सबै तहमा सर्कुलर गर्ने बताउनु भयो ।

छलफलमा अन्य दलहरु नेकपा एकीकृत समाजवादी झापाका जिल्ला सदस्य श्री सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईले निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धतासहित आफ्नो धारणा राख्नुभएकोे थियो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा मालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगेन्द्र प्रसाई, राप्रपा नेपाल झापा अध्यक्ष कमलप्रसाद खरेल, विवेकशील साझा पार्टी झापाका संयोजक मेदनी प्रसाईं, राष्ट्रिय जनमुक्ति पार्टी झापाका अध्यक्ष पर्शुराम मगर र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च झापाका अध्यक्ष नगेन राईले आफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय