|
876 SHARES |
झापा । झापामा किसानले उत्पादन गरेको धानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया सुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले आगामी मङ्सिर १५ गतेदेखि धान खरिद गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार चालु आर्थिक वर्षमा झापाबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिनेछ । खाद्य संस्थान बिर्तामोडमार्फत सोना मन्सुली र रञ्जित मन्सुली धान खरिद गर्न लागिएको हो ।
यसअन्तर्गत सोना मन्सुली धान ८ हजार क्विन्टल र रञ्जित मन्सुली धान ४ हजार क्विन्टल खरिद गरिनेछ । दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।
स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्दै किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था गरेको हो ।
यसैबीच, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार धानको खरिदबिक्री गर्ने कार्यमा निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत स्वेच्छिक रूपमा सहभागी हुन समितिले आग्रह गरेको छ । निजी क्षेत्रका लागि भने न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने व्यवस्था बाध्यकारी नरहेको जनाइएको छ ।









