|
728 SHARES |
बिर्तामोड । भारतको सिक्किममा सञ्चालन हुँदै आएको गायन प्रतियोगिता ‘सिक्किम आइडल इन्टरनेसनल’को तेस्रो सिजनका लागि अनलाइन अडिसन खुला गरिएको छ ।
शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगितालाई सिक्किममा मात्र सीमित नराखी विश्वभर रहेका नेपालीलाई समेट्ने उद्देश्यसहित तेस्रो संस्करण सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ज्युको विश्वका नेनाली भाषीहरु संगितको एउटै मन्चमा जोड्ने परिकल्पना र उहाकै अभिभावकत्वमा सञ्चालन हुने यो प्रतियोगिता आयोजकका रुपमा रहेको ‘हाम्रो वार्ता टेलिभिजन’मा प्रसारण हुनेछ । ‘नयाँ प्रतिभाको खोजी’ भन्ने नारासहित अघि बढाइएको यस प्रतियोगितामा निर्मला देवी फाउन्डेसनको सहकार्य रहेको छ । प्रतियोगिताको पहल र प्रमुख संरक्षकत्त्वमा मुख्यमन्त्रिका राजनैतिक सचिव ज्याकब खालिङ रहनु भएको छ ।
प्रतियोगिताका संरक्षक सन्जय दिलपाली राईका अनुसार गायनमा रुचि र क्षमता भएका नेपाली प्रतिभालाई अवसर प्रदान गर्दै उनीहरूको कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले यस प्रतियोगितालाई विस्तार गरिएको हो । ‘यसअघि सिक्किम राज्यभित्रका प्रतिभालाई मात्र समेट्दै आएका थियौँ, यसपटक विश्वभर रहेका नेपाली भाषी नवप्रतिभालाई सिक्किमसँग जोड्ने पनि हाम्रो उद्देश्य हो’, उनले भने । उनका अनुसार प्रतियोगिताको पहिलो संस्करणकी विजेता जेत्सेन डोना लामा भारतको चर्चित गायन रियालिटी शो ‘सारेगामापा लिटल च्याम्प्स’मा समेत विजेता बनिसकेकी छन् । दोस्रो संस्करणकी विजेता ओजस्वी गुरुङको सांगीतिक यात्रा पनि सफल रहँदै आएको उदाहरण दिँदै यस्तै प्रतिभा विश्वभरका नेपालीबाट खोजी गर्ने लक्ष्य राखिएको उनले बताए ।
कार्यक्रममा चिफ प्रोग्राम अपरेटिङ अफिसर मनोज राईले प्रतियोगितामा १५ वर्ष उमेर पूरा भएका प्रतिभाले सहभागिता जनाउन सक्ने बताए् । उनका अनुसार अनलाइन अडिसनका लागि नोभेम्बर २५ (मंसिर ९ गते) सम्ममा दुई मिनेटसम्मको गायन भिडियो पठाउन सकिनेछ । एउटा मात्र वाद्यवादन प्रयोग गरेर वा नगरी स्पष्ट स्वरसहितको गीत गाएर रेकर्ड गरिएको भिडियो पठाउन उनले अनुरोध गरेका छन् । भिडियो पठाउन वाट्सएप नम्बर +91 6296529813, +91 9475371002 वा [email protected] मा इमेल गर्न सकिनेछ ।

पत्रकार भेटघाटमा प्रोग्राम इन्चार्ज दिवस राईले प्रतियोगितामा एसएमएस भोटिङ नराखिएको र सिक्किमबाहिरबाट छनोट भएका प्रतिभालाई लजिस्टिक सुविधा समेत रहेको बताएका छन् । कार्यक्रममा प्रतियोगिताका क्रिएटिभ हेड प्रनिस पाख्रिन, कवि नवराज पराजुली लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् ।
आयोजकका अनुसार मंसिर १४ गते (नोभेम्बर ३०) बिर्तामोड, काठमाडौं र देहरादुनमा प्रत्यक्षरुपमा फिजिकल अडिसन हुनेछ । डिसेम्बर ३ मा गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङ तथा डिसेम्बर ६, ७ र ८ मा सिक्किमका विभिन्न जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले जनाएको छ । डिजिटल र फिजिकल अडिसन नि:शुल्क रुपमा सञ्चालन हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले भारतिय रकम दश लाख, दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाली भाषी प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै उनीहरूको गायन क्षमता र सांगीतिक भविष्यलाई अघि बढाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।









