|
1,085 SHARES |
बिर्तामोड । झापाको बिर्तामोडमा बुधबार भएको भीषण आगलागीबाट घरसहित दुईवटा व्यवसायका सामग्री जलेर नष्ट हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको दुईतले पक्की घरमा बिहान १०ः४० बजे आगलागी भएको थियो। घरमा सञ्चालित शुभलाभ इलेक्ट्रोनिक्सको गोदाममा विद्युत् सर्ट भएर आगो सल्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बिर्तामोड प्रहरीले जनाएको छ।
आगलागीबाट इलेक्ट्रोनिक्स पसल तथा गोदाममा रहेका सम्पूर्ण विद्युतीय सामग्री जलेर नष्ट भएका छन्। आगो फैलिएपछि सोही घरमा रहेको निरिका फर्माको फार्मेसी तथा गोदामका औषधिसमेत जलेर नष्ट भएका छन्।
बिर्तामोड प्रहरीले दिएको विवरणअनुसार शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदामका सामग्रीमा करिब ३ करोड, निरिका फर्माको फार्मेसी तथा गोदामका औषधिमा करिब १ करोड र घरधनी राजेश मण्डलको दुईतले घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी नियन्त्रणका लागि झापाका सातवटा पालिकाका दमकल परिचालन गरिएको थियो। बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका दमकलसहित स्थानीय बासिन्दा तथा ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार र नियन्त्रण कार्यमा खटिएका थिए। आगो नियन्त्रणमा लिन जेसीबीसमेत प्रयोग गरिएको थियो।
करिब पाँच घण्टाको प्रयासपछि दिउँसो ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षतिबारे भने प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।









