|
867 SHARES |
झापा । विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या झापामा बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय झापाको अभिलेखअनुसार पछिल्लो साढे चार वर्षको अवधिमा जिल्लाका २४६ जनाले नेपाली नागरिकता त्यागेका छन्।
कार्यालयको तथ्याङ्कअनुसार २०७८ सालदेखि २०८३ कात्तिक १२ गतेसम्म नागरिकता परित्याग गर्नेमा १६२ पुरुष र ८४ महिला छन्। यस अवधिमा नागरिकता त्याग्ने पुरुषको संख्या महिलाको तुलनामा झण्डै दोब्बर छ।
वर्षगत विवरण हेर्दा २०७८ सालमा तीन पुरुष र तीन महिलाले नेपाली नागरिकता त्यागेका थिए। २०७९ सालमा आठ पुरुष र तीन महिला गरी ११ जनाले नागरिकता परित्याग गरेका थिए। २०८० सालमा भने यो संख्या ह्वात्तै बढेर ७९ पुगेको थियो। उक्त वर्ष ५९ पुरुष र २० महिलाले नागरिकता त्यागेका थिए।
त्यसैगरी, २०८१ सालमा ५३ पुरुष र १८ महिला गरी ७१ जनाले नेपाली नागरिकता परित्याग गरेको प्रशासनको अभिलेख छ। २०८२ सालमा भने नागरिकता त्याग्ने महिलाको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। उक्त वर्ष २५ पुरुषको तुलनामा ४५ महिलाले नेपाली नागरिकता त्यागेका थिए।
चालु आर्थिक वर्ष २०८३ को कात्तिक १२ गतेसम्म १९ पुरुष र २० महिलाले नागरिकता परित्याग गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो तथ्याङ्कमा पुरुष र महिलाको संख्या लगभग बराबर देखिएको छ।
तथ्याङ्कले २०८० र २०८१ सालमा पुरुषले नेपाली नागरिकता त्याग्ने क्रम बढी रहेको देखाउँछ भने २०८२ सालमा महिलाको संख्या पुरुषको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ। विशेषगरी पछिल्ला दुई वर्षको विवरणमा नागरिकता परित्याग गर्नेको संख्या उच्च रहेको छ।
विदेशमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिले सम्बन्धित विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता परित्याग गर्ने गरेका छन्। नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकता प्राप्त गरेपछि सामान्यतः नेपाली नागरिकता कायम रहँदैन। यद्यपि, कानुनले तोकेको योग्यता पूरा गरेका व्यक्तिका लागि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने छुट्टै व्यवस्था रहेको छ।









