|
1,057 SHARES |
बिर्तामोड । पूर्वेली ढुवानी सेवा प्रा.लि.ले असोज महिनाको उत्कृष्ट चालकका रूपमा पाँचथरको फिदिम नगरपालिका–३ का सविन श्रेष्ठलाई सम्मान गरेको छ। कम्पनीले चालक श्रेष्ठलाई प्रशंसापत्रसहित नगद ५ हजार १०० रुपैयाँ प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले श्रेष्ठलाई असोज महिनाको ‘चालक अफ द मन्थ’ घोषणा गर्दै सम्मान गर्नुभएको हो। चालकहरूलाई प्रोत्साहन गर्दै उनीहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्ने उद्देश्यले कम्पनीले असोज महिनादेखि यो कार्यक्रम सुरु गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष खत्रीका अनुसार चालकहरूको मनोबल बढाउन सुरु गरिएको कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिनेछ। चालक तथा सहचालकले संस्थाको उन्नयनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै वार्षिक रूपमा सम्मान गर्ने व्यवस्था पनि लागू गरिएको कम्पनीले जनाएको छ।
पूर्वेली ढुवानीले चालक तथा सहचालकहरूको हितलाई ध्यानमा राख्दै आकस्मिक कोषको समेत व्यवस्था गरेको छ। यसबाट कर्मचारीको हित संरक्षण र उनीहरूलाई संस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
यसअघि कम्पनीले गत असोज १ गते विश्वकर्मा पूजाको अवसरमा चालक, सहचालक तथा यातायात क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको थियो। उक्त अवसरमा उत्कृष्ट चालकका रूपमा पाँचथरको हिलिहाङ गाउँपालिका–२ का नरेश मगरलाई ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
त्यसैगरी, उत्कृष्ट सहचालकका रूपमा हिलिहाङ गाउँपालिका–२ का सुजन हेम्ब्यालाई नगद ५ हजार १०० रुपैयाँ प्रदान गरिएको थियो। यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बिर्तामोड नगरपालिका–५ का तेजप्रसाद कडरियालाई पनि नगदसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।
चालक तथा सहचालकको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले अघि बढाइएको यस्तो कार्यक्रमले यातायात क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल बढाउन र संस्थाप्रति अपनत्व अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









