|
892 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि दुई करोड ५७ लाख १५ हजार तीन सय ४९ रुपैयाँ ७० पैसा अनुमानित बजेट प्रस्तुत गरेको छ। वन संरक्षण, पर्यापर्यटन विकास, गरिबी न्यूनीकरण र उपभोक्ताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै समूहले आगामी वर्षका योजना अघि सारेको हो।
समूहको ३१औँ वार्षिक साधारणसभा बिहीबार समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षणसँगै उपभोक्ताको आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। प्रतिवेदनअनुसार गरिबी न्यूनीकरण तथा मानव–वन्यजन्तु सहअस्तित्व र स्वास्थ्य प्रवर्द्धनका लागि अर्जुनधारा नगरपालिकासँगको लागत साझेदारीमा १० वटा कृषि समूहलाई प्रतिसमुह सातवटा मौरीका घार वितरण गरिएको छ।
त्यस्तै, गत आर्थिक वर्षमा ३१ घरपरिवारलाई चुलोसहित एलपी ग्यास वितरण, ४५ परिवारको स्वास्थ्य बीमा, १० परिवारलाई खाट वितरण तथा पाँच घरधुरीको छानो सुधार कार्यक्रम सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ। समूहले १२ घरधुरी उपभोक्ताका लागि शौचालय निर्माण गरिदिनुका साथै वृक्षरोपणलाई निरन्तरता दिएको र वन्यजन्तुबाट पीडित उपभोक्तालाई उचित राहत वितरण गरेको जनाएको छ।
उपभोक्ताको स्वास्थ्य र सहजतालाई ध्यान दिँदै प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएकोमा ७६ जना उपभोक्ता लाभान्वित भएको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ।

वन तथा जैविक विविधता संरक्षणतर्फ जडीबुटी खेती प्रवर्द्धन र वन पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिइएको छ। डिभिजन वन कार्यालय झापासँगको लागत साझेदारीमा श्रीखण्ड तथा श्वेतचन्दन वृक्षरोपण कार्यक्रम १० हेक्टर क्षेत्रफलमा विस्तार गरिएको प्रतिवेदनमा जनाइएको छ। वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पिउने पानीको व्यवस्था सुनिश्चित गर्न चुरे खण्डमा संरक्षण पोखरी निर्माण गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
सभामा समूहकी उपाध्यक्ष मनिला जवेगु इङ्नामले आगामी आर्थिक वर्षको वार्षिक योजना प्रस्तुत गर्नुभएको थियो। आन्तरिक लेखा परीक्षण समितिका सदस्य अर्जुन निरौलाले लेखा परीक्षण प्रतिवेदन तथा सहसचिव सोमनाथ चापागाईंले अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कार्ययोजना पुनरावलोकन समितिका संयोजक जीवकुमार भण्डारीले पुनरावलोकनसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो। समितिले कार्ययोजनाको छैटौँ परिमार्जन सभामा प्रस्तुत गरेको जनाइएको छ।

आगामी आर्थिक वर्षका लागि समूहले नौ हजार छ सय ८५ दशमलव ४७ क्युफिट साल तथा अन्य जातका गोलिया काठ र सात हजार ७० दशमलव २५ भारी दाउरा संकलन गर्ने लक्ष्य राखेको छ। साथै, कैदले पर्यापर्यटन क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने तथा विगतका वर्षमा सञ्चालन हुँदै आएका उपभोक्तामुखी कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने योजना अघि सारिएको छ।
साधारणसभाका अवसरमा समूहले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई नगदसहित सम्मान गरेको छ। पूर्व सहसचिवद्वय चन्द्रप्रसाद अधिकारी र मदनकुमार दनुवार तथा पूर्व कर्मचारीद्वय डिल्लीराम अधिकारी र रमेश राईलाई सम्मान गरिएको हो।

त्यस्तै, विद्यार्थी अम्बिका गुरुङ र सुदर्शन कार्की, मौरीपालक कृषक मोतीखर भण्डारी, उत्कृष्ट संयोजक नरेन्द्रबहादुर दाहाल तथा तेक्वान्दो खेलाडी प्रिञ्जल लिम्बू र स्मारिका ल्वागुनलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ। अर्जुनधाराका फुटबल खेलाडी राजेश दाहाललाई भने १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव उर्मिला कटुवाल र उपाध्यक्ष तिम्सिनाले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो। सभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गर्नुका साथै पर्यापर्यटन कार्ययोजना समिति गठन गर्ने तयारी गरेको जनाइएको छ।









