अर्जुनधारामा कार्तिक १३ देखि वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विजेतालाई ५१ हजार



881 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आगामी कार्तिक १३ गतेदेखि तीनदिने वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नगरका ११ वटै वडाका टोली सहभागी हुने प्रतियोगिता अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछ ।

नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को कार्यालयको सहआयोजनामा हुन लागेको प्रतियोगिताबारे आयोजकले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विज्ञापन

नगरस्तरमा भलिबल खेलको विकास गर्ने, स्थानीय खेलप्रतिभाको पहिचान गर्ने र नगरको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टोली निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

विज्ञापन

उनका अनुसार वडामा रहेका खेलाडीलाई खुला रूपमा प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्दै उनीहरूको क्षमता पहिचान गरी नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा भलिबल संघको नियमअनुसार खेल सञ्चालन गरिनेछ । प्रत्येक टोलीमा १२ जना खेलाडी रहने व्यवस्था गरिएको छ । प्रतियोगिताका खेलहरू उत्कृष्ट तीनमध्ये दुई खेल जित्ने प्रणालीमा सञ्चालन हुनेछन् भने फाइनल खेल उत्कृष्ट पाँचमध्ये तीन खेल जित्ने प्रणालीमा खेलाइनेछ ।

प्रतियोगिताको विजेता टोलीले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई खेलको उत्कृष्ट खेलाडीका रूपमा एक हजार ५०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, उदियमान खेलाडी, प्रशिक्षक, डिफेन्डर र सर्भरलाई जनही दुई हजार ५०० रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

स्थानीय स्तरमा भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै खेलकुदप्रति युवाको आकर्षण बढाउन तथा नगरको प्रतिनिधित्व गर्न सक्ने सक्षम टोली तयार पार्न प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको सहआयोजकसमेत रहेको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिचन्द्र बास्तोलालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय