आयोजकले जित्यो प्रथम सालबारी–मिलडाँडा भेट्रान्स फुटबलको उपाधि



873 SHARES

झापा । झापाको अर्जुनधारामा आयोजित प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक सालबारी–मिलडाँडा भेट्रान्स क्लबले जितेको छ। शनिबार स्थानीय देउनिया खेलमैदानमा सम्पन्न फाइनलमा चारपाने युनाइटेड भेट्रान्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा चारपानेले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलको १९औँ मिनेटमा चारपानेका सुवास आङथुपोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

विज्ञापन

तर, दोस्रो हाफमा आयोजकले खेलमा पुनरागमन गर्‍यो। खेलको ५१औँ मिनेटमा आयोजकका खेम पोखरेलले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका पोखरेलको गोलले आयोजकलाई खेलमा फर्काएको थियो।

विज्ञापन

निर्धारित समयको खेल बराबरीतर्फ अघि बढिरहेका बेला अतिरिक्त समयमा आयोजकका प्रविण राईले निर्णायक गोल गरे। उनको गोलसँगै आयोजकले २–१ को जित निकाल्दै उपाधि उचाल्न सफल भयो।

उपाधिसँगै आयोजकले नगद ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चारपाने युनाइटेड भेट्रान्सले ३१ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ। फाइनल खेलको उत्कृष्ट खेलाडी आयोजकका दीपक श्रेष्ठ घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजकका खेम पोखरेलले हात पारे। उत्कृष्ट गोलरक्षक आयोजककै किरण जवेगु, उत्कृष्ट रक्षक प्रकाश मेचे, उत्कृष्ट मिडफिल्डर चारपानेका सुदीप श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक आयोजकका नवीन चोङबाङ घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यस्तै, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी आयोजकका प्रविण राई घोषित भए। उनले नगद ७ हजार ५०० रुपैयाँ पुरस्कार पाए।

विजेता तथा उपविजेता टोली र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

सालबारी–मिलडाँडा युवा परिवार अर्जुनधारा–११ को आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजकसहित बौद्ध भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, बिर्तामोड भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्स गरी आठ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय