|
939 SHARES |
झापा । छिमेकी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा आज झापाको झिलझिलेमा सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष उदयप्रकाश राईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
असोज ५ गतेदेखि इकाइगत रूपमा सुरु भएको साधारणसभाको समापन झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको हो। संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ५ करोड २२ लाख ५० हजार ५८० रुपैयाँको कुल कारोबार गरेको जनाएको छ।
२०६४ सालमा स्थापना भएको संस्थाले बचत तथा ऋण कारोबारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट धनजनको क्षति भएका परिवारको पुनःस्थापनाका लागि संस्थाले १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग गरेको थियो।
संस्थामा हाल ५ हजार १७१ जना सदस्य र ३१ जना कर्मचारी रहेका छन्। संस्थाका पाँचवटा सेवा केन्द्र सञ्चालनमा छन्। दमक, कमल गाउँपालिकाको केरखा, शिवसताक्षीको धरमपुर, मङ्गलबारे–जनता बजार र कनकाई नगरपालिकाको सुरुङ्गामा सेवा केन्द्र रहेका छन्।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार शेयर पुँजी ११ करोड ३२ लाख ५० हजार ३०० रुपैयाँ, बचत निक्षेप ६४ करोड २७ लाख ४४ हजार ८७७ रुपैयाँ ८३ पैसा र बाह्य ऋण तथा सापटी १८ करोड १ लाख ४७ हजार १६८ रुपैयाँ ८२ पैसा रहेको छ। कुल कर्जा लगानी ७५ करोड ९१ लाख १४ हजार ४६२ रुपैयाँ, नगद तथा बैंक मौज्दात १६ करोड २१ लाख ९९ हजार ६६ रुपैयाँ रहेको छ।
त्यस्तै, संस्थाको कुल सम्पत्ति ३ करोड १७ लाख २९ हजार ६६० रुपैयाँ, कुल आम्दानी १० करोड ४१ लाख ९४ हजार ७७० रुपैयाँ ७३ पैसा र कुल खर्च ८ करोड ७५ लाख १६ हजार ९३२ रुपैयाँ १४ पैसा रहेको छ। खर्च कटाएर संस्थाले १ करोड ६६ लाख ७७ हजार ८३८ रुपैयाँ ६५ पैसा खुद नाफा (उभार बचत) गरेको जनाएको छ।
साधारणसभामा संस्थाले उत्कृष्ट कर्मचारीका रूपमा माधव पोखरेल, केशव आचार्य, मनोज श्रेष्ठ र मीना अधिकारीलाई नगदसहित सम्मान गरेको छ। त्यस्तै, ७५ वर्षभन्दा माथिका २३ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको थियो। संस्थासँग निक्षेप, कर्जा तथा अन्य रचनात्मक कारोबारमा सक्रिय सदस्यलाई समेत सम्मान गरिएको थियो।
साधारणसभामा अध्यक्ष उदयप्रकाश राईले संस्थाको नीति तथा कार्यक्रम र वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक यामबहादुर खड्काले प्रस्तुत गरेका थिए भने संस्थाको संक्षिप्त वित्तीय प्रतिवेदन कार्यकारी प्रमुख नरप्रसाद ओलीले प्रस्तुत गरेका थिए। उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रम सचिव विनोद सापकोटाले सञ्चालन गरेका थिए।
प्रमुख अतिथि वडाध्यक्ष सन्तकुमार फेउदिनले छिमेकी बचत तथा ऋण सहकारीलाई अब्बल वित्तीय संस्थाका रूपमा अघि बढिरहेको बताए। कोरोना महामारीका बेला आफूलाई पनि छिमेकी सहकारीले सहयोग गरेको स्मरण गर्दै उनले अप्ठ्यारो पर्दा आफन्तभन्दा पहिले छिमेकीले भरथेग गर्ने भएकाले संस्थाको नामअनुसारको सामाजिक भूमिका पनि महत्वपूर्ण रहेको बताए।
सल्लाहकार समितिका संयोजक गंगाप्रसाद ओलीले छिमेकी बचत तथा ऋण सहकारी संस्था बैंकिङ क्षेत्रको मापदण्डअनुसार सञ्चालन हुने अवस्थामा पुगेको बताए।
साधारणसभामा संस्थाका कम्तीमा ५२ प्रतिशत सदस्यको सहभागिता रहेको जनाइएको छ।










