|
1,299 SHARES |
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।
स्वास्थ्य कार्यालय झापाले आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो। अभियानमा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक पाँच लाख ७० हजार डोज खोप जिल्लामा प्राप्त भइसकेको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको उहाँले बताउनुभयो।
अभियानअन्तर्गत जिल्लाका १३१ वडामा करिब ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। खोप अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्।
देशभरमै झापामा जेई सङ्क्रमणको अवस्था उच्च रहेकाले झापाबाटै लक्षित समूहका नागरिकलाई खोप दिने अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रमुख दासका अनुसार झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमितमध्ये सात जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन्। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको उहाँले बताउनुभयो।
उहाँले जेई सङ्क्रमण तथा मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग आवश्यक समन्वय गरिएको उहाँको भनाइ छ।
खोप सुरक्षित रहेको उल्लेख गर्दै प्रमुख दासले खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसबाट गम्भीर स्वास्थ्य समस्या नहुने बताउनुभयो। उहाँले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन आग्रह गर्नुभएको छ।










