|
983 SHARES |
झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक मार्फत दिएको जानकारीमा बाढीपछि हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ।
उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरमार्फत २३६ उडान भइसकेका छन्।
बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई अस्थायी आवासको व्यवस्था गरिएको छ भने रसुवा र नुवाकोटमा गरी १८ वटा राहत शिविर सञ्चालनमा छन्।
सरकारका अनुसार रसुवा, धादिङ, नुवाकोटसहित विभिन्न आठ जिल्लामा हालसम्म ६७५ वटा शव फेला परेका छन्। पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको डीएनएलगायत विवरण सुरक्षित राखी कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको छ।
बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर पुनः सञ्चालनमा आएका छन्।
त्यस्तै, वैकल्पिक सडक मर्मत गरी रसुवा पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको र पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डसमेत सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन्।
सरकारले राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको जनाएको छ। प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी जम्मा भएको र विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट थप आर्थिक तथा मानवीय सहायता प्राप्त हुने प्रतिबद्धता आएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न र तथ्यमा आधारित सूचना प्रवाह गरी प्रभावितको मनोबल बढाउन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।










