काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार साँझ बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा उनले ५७ सांसदको समर्थन पाएका हुन्।
१०४ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्नेमा मुख्यमन्त्री मगरले आवश्यकभन्दा चार मत बढी प्राप्त गरे। उनको पक्षमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद उभिएका छन्।
एमालेका २४, नेकपाका २६ र राप्रपाका सात सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री मगर नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित बनेको छ।
विश्वासको मत लिनुअघि भने सत्तारूढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको थियो। मन्त्रालयको भागबण्डा, मन्त्री चयन र शक्ति बाँडफाँटमा नेकपाका केही सांसद असन्तुष्ट भएपछि उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने अन्योलसमेत सिर्जना भएको थियो।
प्रदेशसभा बैठक सुरु हुनुअघि सत्तारूढ तीन दलबीच ६ बुँदे सहमति भएपछि भने विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको थियो।
राप्रपाभित्रको विवाद भने मतदानका क्रममा थप रोचक देखियो। पार्टी केन्द्रको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको थियो। त्यसैगरी, राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री मगरलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी थिइन्।
तर पार्टीको ह्विपलाई चुनौती दिँदै राप्रपाका सातै जना सांसदले मुख्यमन्त्री मगरको पक्षमा मतदान गरे। पक्षमा मतदान गर्नेमा संसदीय दलका नेता उद्धव थापासहित गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ छन्।
राप्रपाका सातै सांसदले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि बागमती प्रदेशको सत्ता गठबन्धनभित्रको शक्ति समीकरण थप पेचिलो बनेको छ।










